(जगदम्बा )
नेपाली साहित्यको वृहत् इतिहास
नेपाली पद्य र बाल साहित्य
गणतन्त्रवादी कविता आन्दोलन :
खगेन्द्र सङ्ग्रौला, विमल निभा, विक्रम सुब्बा, श्यामल, हरिगोविन्द लुइटेल र मातृका पोखेलले २०६१ जेठ ९ को मिति राखेर गणतन्त्रवादी कविता आन्दोलन सन्दर्भ र सार्थकता शीर्षकमा गणतन्त्र कविता आन्दोलनको अवधारणापत्र प्रस्तुत गरेका छन्। राजतन्त्रको निरङ्कुश शासनका विरुद्ध विद्रोहको स्वर मुखरित गरी लोकतान्त्रिक गणतन्त्रका पक्षमा कविताका माध्यमवाट जनतालाई उत्प्रेरित गराउनु गणतन्त्रवादी कविता आन्दोलनको मुख्य उद्देश्य रहेको देखिन्छ। यस किसिमको दृष्टिकोण प्रस्तुत आन्दोलनको अवधारणापत्रमा उल्लेख गरिएको छ र गणतन्त्रवादी कविता आन्दोलनको औचित्यलाई समेत स्पष्ट पारिएको छ। यसै सन्दर्भमा गणतन्त्रवादी कविताआन्दोलनका संयोजकहरूले लेखनको मूल्य र महत्त्व काले पनि यस कविता आन्दोलनको पुनर्संयोजन गरिएको धारणा पनि अवधारणापत्रमा प्रस्तुत गरिएको छ। गणतन्त्रवादी कविता आन्दोलन औपचारिक रूपमा काठमाडौँबाट सुरु भए पनि यसले देशका विभिन्न ठाउँमा प्रभाव पारेको देखिन्छ र आन्दोलनका रूपमा नै गणतन्त्रवादी कविता गोष्ठीहरू पनि विभिन्न ठाउँमा भएको पाइन्छ । 'जनताको जीवन र तिनका पीडा, लोकतन्त्र र सामाजिक परिवर्तनमा आधारित कविता नै इतिहासका शक्तिशाली कविता हुन् । कवितामा गणतान्त्रिक सन्दर्भलाई पनि यही मूल्यमा आधारित मई हेर्नुपर्ने हुन्छ' (भट्टराई, २०६१ : ५) । गणतन्त्रवादी कविता आन्दोलनका आफ्ना केही मूल्य र मान्यता पनि रहेका छन् । गणतन्त्रवादी कविता आन्दोलन चेतना सम्पन्न र सार्वभौम नागरिकका पक्षमा, यस देशको सर्वोच्च नीतिनिर्माण तहमा पुगेर देशका निम्ति काम गर्न पाउने उसको मौलिक अधिकार प्राप्तिका पक्षमा तथा मानवीय अहम् र गरिमाको पक्षमा गरिने काव्यात्मक हस्तक्षेप हो। यसले सामन्तवादमुक्त सार्थमा आफ्नो जीवन समर्पण गरी हामीलाई दृष्टि प्रदान गर्ने र हाम्रो चेतना समृद्ध पार्ने सबै दिवास र जीवित जनहरूप्रति समर्पित छ। यसले कलात्मक ओजलाई सदैव सर्वोपरि प्राथमिकता दिनेछ । यस मान्यताका आधारमा गणतन्त्रवादी कविता आन्दोलनले कविताको कलात्मक पक्षलाई पनि महत्त्व दिएको देखिन्छ । राजनीतिक उद्देश्य प्राप्तिका लागि सञ्चालित अन्य काव्यिक आन्दोलन वा अभियानहरूले कवितामा कला पक्षको कुरा नउठाएको सन्दर्भमा गणतन्त्रवादी कविता आन्दोलनले यस पक्षलाई पनि प्राथमिकता र महत्त्व दिएकाले राजनीतिक उद्देश्य प्राप्तिबाट अभिप्रेरित अन्य कविता आन्दोलनका सापेक्षतामा यो आन्दोलन केही भिन्न देखिन्छ । उपर्युक्त पाँचजना कविहरूद्वारा यस आन्दोलनको घोषणा भए पनि यस अभियानमा धेरै कविहरूको संलग्नता पाइन्छ। वेदना, ३३ / ७२ लाई 'गणतन्त्र कविता विशेषाङ्क' का रूपमा प्रकाशित गरी ९२ जना कविहरूका एकएकवटा गणतन्त्रवादी कविताका साथै कवितामा गणतन्त्रसम्बन्धी लेख र यस आन्दोलनको अवधारणापत्र पनि प्रकाशित गरेको देखिन्छ भने शब्दसंयोजन पत्रिकाको पूर्णाक २५ र अन्य विविध पत्रिकाले पनि गणतन्त्रका पक्षमा लेखिएका कविता प्रकाशित गरेको देखिन्छ । प्रवृत्तिगत दृष्टिले पनि गणतन्त्रवादी कवितामा युगीन यथार्थ प्रतिबिम्बित भएको देखिन्छ। वर्तमानका गणतन्त्रका पक्षधर यी कविका कविताहरू राजतन्त्रविरुद्ध लक्ष्यित छन् भने नेपाली समाज र जनताको चाहनाअनुरूप गणतन्त्र नेपालको सुन्दर सपना कवितामा व्यक्त भएका छन्। वर्तमानमा विद्यमान निरङ्कुशता, उत्पीडन, द्वन्द र पीडाको मूल कारक निरङ्कुशतन्त्रलाई ठहयाउँदै यी कविहरूले गणतान्त्रिक नेपालको आगमनपछि यी पक्षबाट देशले मुक्ति प्राप्त गर्ने सन्देश व्यक्त गरेका छन्। यिनका कवितामा राज्यको सञ्चालन वंशानुगत रूपमा आउने व्यक्तिबाट हुँदा नै नेपालले प्रगति गर्न नसकेको र दरबारले हरेकपल्ट धोका दिनेहुँदा अब अन्तिम क्रान्ति गर्नुपर्ने सन्देश पनि व्यक्त भएको छ (भट्टराई, २०६१ : २६)। यसप्रकार समकालीन नेपाली कवितामा गणतन्त्रवादी कविताआन्दोलनले युगीन राजनीतिक अव्यवस्थाको यथार्थ चित्रण गर्दै नेपालको समुन्नत भविष्यको कामना गरेको भाव अभिव्यञ्जित गरेको देखिन्छ ।
No comments:
Post a Comment