निरङ्कुशतन्त्रलाई ललकार्ने त्यो घर
------------------------------------------
अनामनगरको उत्तर पूर्वी कुनामा एउटा गणेश मन्दिर छ । त्यहाँबाट पूर्वतिर जाने एउरा गल्ली छ । धोबीखोला पुग्ने गल्ली । गल्लीमा हिँड्दा त्यो घरतिर आँखामात्र पुग्दैनन् मेरा । धेरै कुरा सम्झनामा आउँछन् । धेरैलाई मलाई जसरी सम्झना आइरहने हो त्यो घर ।
को थिए र कहाँका हुन् आफ्नो औंलो गुमाउने टंकनाथ पोखरेल ?
"भाइ, म ती टंकनाथ पोखरेलको खोजी गर्दैछु । त्यसपछि तपाईं र म जानुपर्छ ।"
सायद दाहाल यज्ञनिधि दाइसँगकाे यो मेरो पछिल्लो सम्वाद हुनुपर्छ । तिनै टंकनाथ पोखरेलले सहिद गेटमा राजा त्रिभुवनको सालिक मुन्तिर अपमानित ढंगले चारजना सहिदहरूको सालिक राखिएको कुराको औंलो देखाएर बिरोध गर्दा सजायस्वरूप निरङ्कुश सत्ताले उनको एउटा औंलो काटिदिएको रहेछ ।
०६२/६३ को आन्दोलनपछिका तीन वर्ष मेरो ५८ सालमा लेखिएको त्यही सहिद गेटमा राजा त्रिभुवनको सालिक राखिएको प्रसङ्गमा लेखिएको 'एउटा पुजारीको आत्मव्यथा' शिर्षकको कविता उहाँकै नेतृत्वमा वाचन गरेर सहिद गेटमा गएर सहिद दिवस मनायौं । त्यसपछि उहाँको स्वास्थको कारण सहिद गेटमा गएर सहिद दिवस मनाउने कार्यक्रम बन्द भयो । त्यसबेला त्यो कार्यक्रमको सभापति उहाँनै हुनुहुन्थ्यो । कार्यक्रमको अन्तमा बोल्दा उहाँले औंलो गुमाउने टंकनाथ पोखरेलको चर्चा बारम्बार गर्नुहुन्थ्यो ।
तर यो प्रश्नको उत्तर खोजी गर्ने जिम्मा हामीलाई छाडेर दाहाल यज्ञनिधि दाइ हामीबाट विदा भइसक्नु भएको छ । को थिए र कहाँका हुन् आफ्नो औंलो गुमाउने टंकनाथ पोखरेल ? उहाँले बारम्बार उठाउने गर्नुभएका
दाहाल यज्ञनिधि दाइको संयोजनमा सहिद दिवसका दिन सहिद गेटमा गएर वाचन गरिने मेरो कविता । यसै कवितामार्फत दाहाल यज्ञनिधि दाइलाई पुनः श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु ।
------------------
एउटा पुजारीको आत्मव्यथा
- मातृका पोखरेल
म प्रत्येक बिहान
शहीदलाई पूजा गर्न शहीदगेट जान्छु
तर शहीदभन्दा माथि
ढसमस्स बसेको
मलाई श्रद्धा नलागेको एउटा निर्लज्ज शालिक
शहीदभन्दा पहिले
आफ्नो घाँटीमा माला थाप्छ
म शहीदगेटको एउटा पीडित पुजारी ।
०००
भविष्यका निम्ति मर्नेहरूको सम्मानमा
वनफूल बोकेर
सैलुङ लेकको नागी चढ्न तयार छु
तर घृणा लाग्ने इतिहासलाई
म मालाले सजाउन चाहन्नँ
अब शहीदको पूजा गर्न
शहीदगेट नआए पनि हुन्छ
अब हाम्रै गाउँका नागीहरूमा
शहीदगेट बनाए हुन्छ
फेरि मैले सपना देखिरहेको छु
शहीदहरूको टाउको माथि
फेरि कुनै रात
इदी अमिनहरू
सिंहासन बनाउने योजना कोरिरहेका छन्
म शहीदगेटको एउटा पीडित पुजारी
०००
अझै घोडा चढेर
आक्रोशित मुद्रामा
शहिदगेटका सालिकहरूलाई
जंगबहादुरहरू
नेपथ्यबाट घुरिरहेछन्
प्रत्येक रात टुँडिखेलमा
मेरो आस्था कुल्चने योजनाको
बैठक चल्छ
बैठकको एउटा दृश्यमा
नरशमशेरले औंला ठड्याएको
मैले धेरैपटक देखेको छु
अब मैले बनाउनुपर्छ
हतियार बोकेर उभिएको
शहीदको नयाँ शालिक
र, राख्नुपर्छ
धरहराको उचाइमा
या आफ्नै गाउँका नागीहरूमा
म शहीदगेटको एउटा पीडित पुजारी
No comments:
Post a Comment