"आज एकजना मानिससँग भेट्न लैजान्छु ।" २०४५ सालको कुनै महिना विहान डिल्लीजङ्ग गुरुङले खड्ग गुरुङ र मलाई भन्नुभयो । सायद, शनिवारको दिन थियो । दिउँसो डिल्लीजङ्ग दाइले हामीलाई लिएर पाटन मंगलबजारस्थित काइँला बाकाे घरमा पुर्याउनुभयो । "मेरो नाम रामबहादुर हो" एकजना सैनिक ड्रेसजस्तो लाग्ने पहिरन लगाएको मान्छेले हामीसँग परिचय गर्दै देशको अवस्था र हामीले गर्नुपर्ने कर्तव्यका बारेमा लामो छलफल गर्नुभयो । उहाँको कुरा सुनेपछि हामीलाई लाग्दै गयो - 'उहाँ पक्कै सामान्य मान्छे होइन ।' मेरो साहित्यतिरको रूची थाहा पाएपछि साहित्यकारको भूमिकाको बारेमा निकै समय खर्च गरेर आफ्ना कुरा राख्नुभयो ।
मैले खड्गजीलाई बाटोमा खुसुक्क सोधें डिल्लिजङ्ग दाइले नसुन्ने गरी । " कतै रामबहादुर भन्ने मान्छे निर्मल लामा त होइन ? "
त्यसपछिको अर्को भेटघाटबाट हाम्रो अनुमान सही साबित भयो । अर्को भेटघाट त्यसबेलाका चर्चित विद्यार्थी नेता प्रभुनारायण बस्नेतले मिलाउनु भएको थियो ।
०४६ सालको आन्दोलन सकिएको थियो । डिल्लीजङ्ग दाइले भन्नुभयो । - "निर्मल लामाले तपाईंलाई लिएर आउनुस भन्नुभएको छ । डिल्लिजङ दाइसँग म एकाविहानै म्हेपी पुगेँ । विहान चिया खानेवित्तिकै लामा दाइले हामीलाई लिएर क्षेत्रपाटीस्थित गणेशमान सिंहको निवास लग्नुभयो । करिब चारपाँच घण्टाको बसाईमा गणेशमान सिंह र लामादाइका महत्त्वपूर्ण छलफल सुन्ने मौका प्राप्त भयो । त्यसदिनको खाना हामीले गणेशमान सिंहको भान्सामा खायौं । त्यसपछि लामादाइले हामीलाई डा. बाबुराम भट्टराईको निवास रक्तकाली लिएर आउनुभयो ।
No comments:
Post a Comment