Friday, April 23, 2021

समय संवाद


कम्युनिस्ट आन्दोलनमा लाग्दा  सपनाका  केही जुलुसहरू थिए आफ्नो अघिल्तिर। आखिर सपनाहरू त अहिले पनि ज्युदै छन्।  तर आफू हिड्ने बाटोको अघिल्तिर आफ्नो सपनालाई  भताभुङ्ग बनाउने नयाँ नयाँ दृश्यहरू  एक पछि अर्को गर्दै आईरहेका  छन्। केही वर्षदेखि सपनाहरू बिग्रिरहेका छन्।  आज फेरि बिग्रिएको सपनाको एउटा  नयाँ दृश्य  अघिल्तिर आयो। आजको  यो दृश्यमा  बडेमाको  शरीर भएको   एउटा मान्छेले नेपालको प्रगतिशील समाज रूपान्तरणका निम्ति  आफ्नो सम्पूर्ण जीवन अर्पिएका अमिक शेरचन,  शक्ति लम्साल, निनु चापागाईं, घनश्याम शर्मा पौडेल , रामेश , रायन , गङ्गा लामाहरू बसिरहेको ठाउँ बाट  गलहत्याउदै बाहिर निकालेर  बाबुराजा ओझा , शम्भुलाल श्रेष्ठ , रेखा थापा ,  ल्यारक्याल लामा लगायतको एउटा  समुदायलाई फूलमाला  र अबिरले स्वागत गरिरहेको थियो। सपनामै  ल्यारक्याल लामाले हामीलाई प्रशिक्षण दिदै भन्दै थिए  ……… " अब  हाम्रो महान तथा गौरवशाली पार्टीले समाजवादी क्रान्ति सम्पन्न गर्नका यो यो बाटोबाट हिड्नुपर्छ ……………………….  .  । " त्यसैबेला कुनै साथीले  मलाई झकझक्याउदै व्युझायो र भन्यो - " अब ढिला भयो उठ्नु पर्छ। "

https://www.facebook.com/share/p/v6HnKktwR851BFAW/?mibextid=oFDknk

------------------------------------


सही कम्युनिस्ट पार्टी हुनेबित्तिकै संसदीय चुनावमा जनताले घर्ल्याक घुर्लुक जिताइहाल्छन भन्ने बलरामजीको विश्लेषणसंग मेरो पुरै असहमति छ । सही कम्युनिस्टले पहिलो त अहिले हामी लडे जसरी जसरी पनि जित्ने मानसिकता बोकेर चुनाव लडिदैन । जनता लाई नढाटीकन सत्य कुरा बोलेर र जनताको वैचारिक स्तर उठाउने उद्देश्यका साथ चुनाव लडिन्छ ।अहिलेको चुनावमा एमाले , काङ्ग्रेस र हाम्रो चुनाव लडाइको सारतत्व एउटै थियो । हामीले चुनावमा जाँदा यो कुरालाई आगामी दिनमा सच्याउन सकेनौं भने नेपाली राजनीतिको बजारमा हाम्रो कुनै जरुरी छैन ।


=========
मेरो तपाईंको यो कुरासँग मात्र होइन । पार्टीको मूल विश्लेषणसँगै असहमति छ । सबै नेता यसै भन्दै हिडेका छन् । कम्युनिस्ट पार्टी भएर सँसदीय चुनावमा जाँदा कसरी जाने भन्ने मूल प्रश्न हो । कोही पनि यहाँ भित्र प्रवेशनै गरेको छैन । तेस्रो शक्ति हुनु , हार्नु कुनै चिन्ताको विषयनै होइन र हुनुहुदैन । तपाईं पनि प्रवेश गर्नु भएन भन्ने मात्र मेरो कुरो हो । गणेशजीको कुरो मलाई थाहा छैन

===============
बलरामजी, अब इतिहासको कुरा गरेर मात्र हुँदैन । इतिहासमा तपाईंहरुले धेरै महत्वपूर्ण भूमिका निभाइसक्नु भएको छ । तर वर्तमानमा अरु भन्दा व्यवहारिक र सैद्धान्तिक यी यी ठाउँमा हामी फरक छौं भनेर जनतामा बुझाउनै पर्छ । अझ जनताले व्यवहारलाई पहिले हेर्छ ।

=================
अर्को महत्त्वपूर्ण कुरो हाम्रो पार्टीको नेतृत्वमा सोच्ने काम हाम्रो होइन कमरेड प्रचण्डको मात्र हो भन्ने चेतना देखिन्छ । हामीले धेरै सोचेर बिग्रेका हौं भन्ने साथीहरू नेतृत्वमा हुनुहुन्छ । यस्तो सोच यो सताव्दीमा भएपछि हामी नबिग्रीएर को बिग्रेला त ! फेरि अर्को कुरा एकताबाट आउनेहरूको क्लासनै फरक हुन्छ भन्ने गोपाल किरातीहरु खुल्लमखुल्ला प्रशिक्षण दिएर हिंड्दा पार्टीका मूल नेतृत्वहरु स्वाद मानेर सुनिरहदा यो पार्टीको आन्तरिक एकता कस्तो हुने हो ? प्रश्न उठेका यस्ता कुरा कति छन् कति छन् ।

=========================

संविधान सभामा अग्रगामी शक्तिहरुको उपस्थिति कमजोर भए पछि हुने यस्तै त हो नि ! पहिलो संविधान सभाबाट बनेको भए पक्कै यो भन्दा प्रगतिशील संविधान बन्थ्यो । संविधान बनाउन अझ ढिलो हुने र हाम्रा नेताहरूको दिल्ली दौडाहा यसरीनै बढ्दै जाने हो भने जनआन्दोलन र जनयुद्धबाट प्राप्त अरु पनि उपलब्धि क्रमश: गुम्दै जाने पक्का छ । शक्ति सन्तुलनका आधारमा हिजो राती जे निर्णय भयो, आलोचनात्मक समर्थन गर्नुनै उपयुक्त र व्यबहारिक हुन्छ । हाम्रा नेताहरूको हालत बुझ्न "प्रयोगशाला" पढे भइहाल्यो नि ! यिनिहरुलाई सीरमा राखेर तल अनावश्यक क्रान्तिकारी कुरा उचाल्नु मूर्ख बन्ने र बनाउने बाटो अख्तियार गर्नु शिवाय अरु के हुन सक्छ र !

=================================

राष्ट्रपति उमेदवारका लागि खिलराज रेग्मीको नाम फेरि चर्चामा आएको छ । उनी नेपाली जनताका उमेदवार होइनन् भन्ने बारेमा पनि कतैतिर पनि सारै शंका देखिदैन । शेर बहादुर देउवाले उन्को नाम प्रस्तावित गरेको कुरा बाहिर आएको छ । बन्दुक देखाएर सुशील कोइरालालाई प्रधानमन्त्रीको उमेदवार बनाएको कुरा कमरेड रोहितले बोल्नुभयो । सुशीललाई प्रधानमन्त्रीको उमेदवार बनाएर खिलराजलाई राष्ट्रपति बनाउने षड्यन्त्र हो कि भन्ने संका पनि संगसंगै उब्जिएको छ । आजको कान्तिपुर पत्रिकामा कमरेड प्रचण्डले खिलराजको पक्षमा लबिङ गरेको समाचार पनि आएको छ । पहिले मन्त्री परिषदको अध्यक्ष कमरेड प्रचण्डले बनाउनु भयो । हेटौंडा महाधिवेशनमा कुन बाहिरी प्रभावले हो , प्रचण्डले प्रस्ताव राख्दा हामीले चुपचाप सुन्यौ। शायद, हाम्रो पार्टीमा त्यसबेला यो प्रस्तावको विरुद्धमा कामरेड नारायणकाजी बाहेक अरु कसैले पनि फरक मत राख्ने हैसियत राखेन ।यो समाचारको खण्डन कमरेड प्रचण्डले गर्न सक्नुपर्छ । उहाँले खिलराजको पक्षमा होइन , राष्ट्रपति उमेदवारका लागि अमिक शेरचनको पक्षमा बोल्नु पर्छ र मात्र पार्टी बन्ने अभियान थोरै भए पनि सुरु हुन्छ ।

============================================

आखिर जे नहुनु थियो त्यही भयो -------
केही दिन अघि एमाओवादीका नेता एवं साहित्यकार आहुतिजीले कवि बलराम तिमिल्सिनाजीले लेख्नु भएको फेसबुक स्टाटसमा टिप्पणि गर्दै उप - राष्ट्रपति बन्न पूर्व माओबादी हुनै पर्ने भन्ने आसयको एउटा विश्लेषण गर्नुभएको थियो । त्यो विश्लेषणमा उहाँका केही तर्कहरु थिए । धेरै साथीहरुले उप - राष्ट्रपति पद कमरेड पासाङका लागि उपयुक्त थिएन भन्ने मत राखीरहनु भएको थियो । निश्चितै रुपमा पासाङ नेपालको कम्युनिष्ट आन्दोलनको एउटा महत्वपूर्ण पात्र हुनुहुन्छ । तर उप - राष्ट्रपति पदका लागि उहाँभन्दा उपयुक्त व्यक्तिहरु अरु प्रसस्तै हुनुहुन्थ्यो ।

यसै विषयमा त्यो फेसबुक स्टाटसमा आहुतिजी लेख्नुभएको थियो ----
"मलाई थाहा भएर होइन, मन्त्रीबारे निर्णय गर्ने स्थायी समितिको बैठकमा स्थायी सदस्यहरूले गरेको दावीको हंगामा र मन्त्री पठाइसकेपछिको शान्तिको विश्लेषण गरेको हुँ। स्थायी समितिमा मन्त्री बन्न मिल्ने सांसद पनि भएकामध्ये अध्यक्ष,महासचिव र प्रभाकरबाहेक अरू सबै मन्त्री भए। लाभको पदमा कहिले पनि नगएका व्यक्तिको पनि जीकिर बैठकमा उठेकै हो। सांसद नभएको व्यक्ति पनि जान मिल्ने ठूलो पद उपराष्ट्रपति मात्र बाँकी छ। अमिक शेरचन पूर्व माओवादी होइनन्। अरू पनि धेरै कारण छन् जुन फेसबुकका लागि मनासिव छैनन्। त्यसैले पासाङ पक्का !"
फेरि उहाँले थप टिप्पणि लेख्दै भन्नुभएको थियो ----
"तर यो कुरा त प्रमाणित भैसकेको कुरा हो कि माओवादी पार्टीमा योग्यता क्षमता जति नै धेरै भए पनि अरूले पूर्व माओवादी सरह अवसर पाउन संभव नै छैन।"
यो पार्टी पूर्व माओवादीको मात्र नभएर हामी सबैको हुन सकेको भए राम्रो हुन्थ्यो भन्ने हाम्रो चाहना धेरै टाढाको विषय नहोस् ।

समय संवाद - २

सचिवालयको विस्तारित वैठकको प्रतिक्षामा पेरिसडाँडा पुगियो । यो वैठकले के कस्ता निर्णय गर्नु पर्ला ? असल र आँटी मनले सुझाव पाऊँ त मित्रहरू !



बलराम तिमिल्सिनाको २०७४ साउन २ गतेको स्टाटसबाट 

मातृका पोखरेलको सुझाव - 


धेरै कुरा सरिताजीले राखीसक्नु भयो । एकदुई वटा थपिदिउँ न भन्ने लाग्यो ! धेरै आसा त छैन तर बलरामजीले कुरा उठाइदीइहाल्नु होला र पार्टी बन्नेतिर गइ पो हाल्ला कि !


१) सर्वप्रथम पार्टी बन्न विचार सहितको सामूहिक नेतृत्व चाहिन्छ । सामूहिक नेतृत्वको सवालमा हामी झनझन कमजोर हुँदै छौं । एमाले भन्दा पनि कमजोर । कमसेकम एमालेका नेताहरुले हामी , हाम्रो भन्ने गर्छन । तर कमरेड प्रचण्ड म, मैले गरेको भन्नुहुन्छ ।यो सामान्य कुरा होइन । स्कूलिंग गर्ने कुरा पनि हो । हामी कता जाँदै छौं भन्ने नराम्रो संकेत हो । 

२ ) केपी ओलीको नेतृत्वमा सरकारमा गएको बेलामा पार्टीले एउटा आचारसंहिता बनाएको भनेर बाहिर आयो । त्यहाँ आफ्ना नातेदारलाई स्वकीय सचिव नराख्ने भनेर । तर पछि त्यो आचारसंहिताको उल्लङ्घन गर्ने काम कमरेड प्रचण्डको नेतृत्वमा जाँदा उहाँबाटै सुरु भयो । यति कुराको आलोचना नगर्ने र उचित सल्लाह नदिने यो पार्टीको पोलिटब्युरो, सचिवालय, स्थायीसमितिमा कस्ता साथीहरु छन् कहिलेकाहीं छक्क लाग्छ । बलरामजी यो कुरो ढिलै भए पनि उठाइदिनुस । तपाईलाई अफ्ट्यारो लागे मेरो सुझाव भनेर उठाइदिनुहोला ।



अर्को सुझाव 


बलरामजी, हाम्रो चुनाव लड्ने शैलीले हामी संसदीय व्यवस्थाको बिरोधी नभएर समर्थक भएको पुष्टि हुन्छ । यो सैद्धान्तिक प्रश्न पनि टुङ्याउनुस है । नत्र चुनावका खुत्रुके कुरा मात्र गरेर हाम्रो नयाँ यात्रा सुरु हुँदैन । मूल प्रश्न यहाँ बाट सुरु गर्नुस् ।


समय संवाद - ३

के नेपालमा कम्युनिस्ट पार्टी नै नभएको हो त ! ( एक बहस )  


माओवादीकेन्द्रका नेताहरू आफैँ नेपालमा कम्युनिस्ट नै छैनन् भन्न थालेका छन् । नरेन्द्रजंग पिटर माओवादी केन्द्रका सल्लाहकार पनि हुनुहुन्छ । पिटरले अस्तिभर्खर राष्ट्रपतिबाट पाउनुभएको तक्मा पनि माओवादी केन्द्रको सिफारिस र कोटा हो भन्ने कुरामा दुईमत छैन । 
माओवादीकेन्द्रका नेताहरू आफैँ नेपालमा कम्युनिस्ट नै छैनन् भन्न थालेका छन् । नरेन्द्रजंग पिटर माओवादी केन्द्रका सल्लाहकार पनि हुनुहुन्छ । पिटरले अस्तिभर्खर राष्ट्रपतिबाट पाउनुभएको तक्मा पनि माओवादी केन्द्रको सिफारिस र कोटा हो भन्ने कुरामा दुईमत छैन ।

त्यसैगरी मातृका पोखरेल पनि माओवादी केन्द्रकै कोटामा प्रगतिशील लेखक संघका अध्यक्ष र प्राज्ञ भइरहनुभएको छ तर पनि उहाँ नेपालमा कम्युनिस्ट पार्टी छैन भनिरहनुभएको छ र बहसमा संलग्न हुनुहुन्छ । आखिर कुरा के हो त ? बहसमा संलग्न भएका धेरै मानिसहरुमध्ये केहीको भनाइ यहाँ प्रस्तुत गरिएको छ :


 

नरेन्द्रजंग पिटर भन्नुहुन्छ :
व्यक्तिको रूपमा कोही कम्मुनिस्ट रहे पनि सङ्गगठनकै हैसियतले नेपालमा कोही छैनन्, ट्रेडमार्कको रुपमा मात्र सीमित रहेका छन।

मातृका पोखरेल भन्नुहुन्छ :
नेपालको कम्युनिस्ट आन्दोलनमा त्याग र बलिदानको ठुलो गाथा रचिएको छ । नेपाली समाजलाई परिवर्तनको यो खुट्किलोसम्म ल्याइपुर्‍याउन कम्युनिस्टहरुकै सबैभन्दा बढी योगदान छ । ५० वर्षमा पनि सम्भव नहुने नेपाली समाजको परिवर्तन दस वर्षको जनयुद्धका कारणले नै प्राप्त भएको हो ।

 

राजनैतिक पूर्वाग्रहका कारण यो कुरा हामीले स्वीकार्ने आँट गरौं कि नगरौं तर तितो र मीठो जे भए पनि सत्य यही नै हो । कम्युनिस्ट आन्दोलनसँग नेपाली जनताका अझै धेरै अपेक्षा थिए । अहिले आइपुग्दा ती अपेक्षालाई मसिनो गरि केलाउने काम पटक्कै गरिएन । सक्नेले गरेनन् । नसक्नेले आवाज मात्र उठाउने हो, उठाइरहेकै छन् । केही साना पार्टीहरु छन्, इमानदार छन् तर जनताको विश्वास आर्जन गर्न सकेका छैनन् । उनीहरुसँग झिनो आवाज मात्र छ । विभिन्न पार्टीमा छरिएर रहेका केही इमानदार नेताहरु छन् ।
जस्तै मोहनविक्रम सिंह, चित्रबहादुर केसी, मोहन वैध्य, रोहितलगायत नेताहरु छन् । जनताको ठुलो हिस्साबाट टाढै छन् । हुन त, श्यामप्रसादको कार्यशैलीबाट पनि नेपाली समाजको रुपान्तरणमा धेरै भूमिका खेल्न सकिन्छ । वर्गीय कुरा गर्ने चुनावमा चाहिँ राप्रपा, काङ्ग्रेस या यस्तैसँग तालमेल गर्ने अनि यिनीहरुको सपना नेपाली जनताको सपना हो भनेर बुझ्ने हामी मूर्ख होइनौं र ?


 

अमर गिरी भन्नुहुन्छ :
व्यक्तिका रूपमा कोही कम्युनिस्ट रहे पनि सङ्गठनका रूपमा नेपालमा कोही कम्युनिस्ट नरहेको धारणा पिटरले राख्नुभयो। मातृका पोखरेलले त्यसमा सहमति जनाउनुभयो। पिटर सुपरिचित लेखक हुनुहुन्छ र माओवादीकेन्द्रसँग जोडिएको वरिष्ठ व्यक्तित्व पनि । मातृका पोखरेल पनि सुपरिचित साहित्यकार हुनुहुन्छ र प्रगतिशील लेखक सङ्घको अध्यक्ष पनि। उहाँ पनि माओवादीकेन्द्रसँग जोडिएको महत्त्वपूर्ण व्यक्तित्व हुनुहुन्छ । दुवैको यस्तो धारणा मलाई रोचक लाग्यो।


एलबी क्षेत्री भन्नुहुन्छ :
म एउटा कुरा थप्न चाहें मातृका पोखरेल सर । नेपाली समाजको परिवर्तन भएको छ, चेतना पनि बढेको छ, केही


बोल्डनेस पनि आएको छ । यसैकालमा समाजमा केही विकृति पनि भित्रिएका छन् । म त्यसको दोष कम्युनिस्ट आन्दोलनलाई दिन्नँ । बिल्कुल दिन्नँ । उस्तै गरि आजको दिनमा देशको राजनीतिले यस्तो कुरूप स्वरूप देख्दा पनि देशले केही दिशामा प्रगति पनि गरेको छ । यो प्रगतिमा कुनै पनि राजनैति पार्टीको योगदान छैन ?
जिरो प्रतिशत योगदान छ तिनीहरुको । कसरी हुन गयो त यो प्रगति ? नेपाली जनता, जुनसुकै परिस्थितिमा पनि आनतरिक रुपमा सचेत छन् । । थ्यसैले गर्दा देश बाँचिरहेछ । हिजो मोदी नाकाबन्दीको बेला पनि बाँचिरह्यो । हाम्रा राजनैतिक पार्टीहरु लैनचौरको दास भएर बाँच्दा पनि देश आन्तरिक सचेतनाका कारण बाँचिरहेछ । देश एउटा नयाँ क्रान्तिको प्रतीक्षामा छ ।

वास्तवमा यी बहस अपूरा छन् । नेपालमा क्रान्तिकारीहरु पनि छन् । कम्युनिस्टहरु पनि छन् । आफू कम्युनिस्ट हुन नसकेपछि कोही कम्युनिस्ट नै छैनन् भन्ने कुरा वस्तुसंगत हुन सक्तैन ।

http://www.janapati.com  बाट साभार 

समय संवाद - ४

- मेरो र साथीहरूको कुरोमा भिन्नता हुनसक्छ । म नेता बन्न हिंडेको होईन । मेरो अघिल्तिर हिड्नेहरु इमानदार हुनुपर्छ भन्नेचाहिँ मेरो कडा आग्रह हो । त्यो नभेटिएको छट्पटी हो मेरो ।

- समाज रुपान्तरणमा सँगठित जीवनकाे महत्त्व प्रति म धेरै सकारात्मक छु । त्यसैले .........

- हो यादवजी, कुरामा हामी बेग्लो गरिरहेका छौँ तर हाम्रो यात्रा सँसदवाद तिरकै हो । अझ भरतपुर प्रकरणमा हामी बाहिर निस्कन नसक्ने फसिसकेका छौं ।

- भरतपुरको जित हाम्रा लागि महँगो हुन सक्ने सम्भावना देखेको छु मैले । त्यो महँगोलाई पुर्ण पनि हाम्रो छलफल जरुरी छ ।

- भरतपुरको बारेमा मेरो बेग्लै धारणा छ । शायद मेरो धारणासँग केही साथीहरू irited पनि हुनसक्नुहुन्छ । रेणुले त चुनाव जितिन । त्यो ठिकै छ । तर उनको उमेदवारी सँगसँगै हामी पार्टीको आन्तरिक जीवन र वैचारिक जीवन दुबैमा कमजोर भएका छौं ।

- बलरामजी, तपाईंले नयाँ बनाउने अभियान चलाउदा भरतपुर एउटा भूत बनेर हाम्रो अघिल्तिर आउँछ ।

समय संवाद - ५

केही 'क्रान्तिकारी' साथीहरु यो संबिधान -सभाले केही पनि दिएन भन्दै हुनुहुन्छ । हामीले खोजे जति यो संबिधान -सभाले देओस भनेर चाहना राख्नु कति उपयुक्त दृष्टिकोण हो , हामीले गहिरो छलफल गर्न फेरि पनि जरुरी छँदै छ । यो छलफल ०४६ सालको आन्दोलनका बेलामा पनि बाममोर्चा निर्माण ताका उठेको थियो। कमरेड निर्मल लामाले त्यस बेला एउटा भत्किएको घरको उदाहरण दिएर यो बिचारको नेतृत्व गर्नु भएको थियो । त्यसबेला उहाँले पंचायत फाल्न नेपाली कांग्रेससंग पनि मिलेर संघर्ष गर्नु पर्छ भन्नु भएको थियो । आखिर कमरेड लामाको त्यही विचार सत्य सावित भयो। क्रान्तिकारी जस्तो भान पर्ने साथीहरुले अहिले फेरि त्यस्तै तर्क दिएर आन्दोलनको समेत घोषणा गर्न पुग्नु भएको छ । उग्र बिचारले कहिलेकाहीँ प्राप्त उपलब्धिलाई रक्षा गर्नु भन्दा भित्रभित्र यथास्थितिवादीहरुलाई सहयोग पुर्याउन मद्धत पुर्याउछ भन्ने कुरा साथीहरुले बुझ्न जरुरी थियो । आखिर पहिलेनै यो संबिधान - सभाबाट धेरै आसा छैन भनेर उहाँहरु टाढै बस्नु भएकै हो । फेरि त्यसैले केही दिएन भन्नु आफैँमा अर्को बिडम्बनापूर्ण कुरा छ । आखिर यो संबिधान - सभा डेढ माना मात्रै दुध दिने गाई हो , उहाँहरु त्यसले बाह्र माना देओस भन्नुहुन्छ । बाह्र माना दिए त धेरै राम्रै हुन्थ्यो ! तर बाह्र माना नदिए डेढ माना फालिदिउं भन्ने साथीहरुको भनाइ फेरि पनि अत्यन्त गलत र मार्क्सवाद बिरोधी छ । डेढ माना ( गणतन्त्र ) लाई सुरक्षित गर्ने हो , अनि साढे दस माना (समाजवाद)का लागि फेरि संघर्ष गर्ने हो । साथीहो , त्यहीनै अहिलेको सही मार्क्सवाद हो ।

समय संवाद - ६

हिजो स्टालिनलाई समर्थन गरेका कार्यकर्ताले नै ख्रुश्चोवलाई पनि समर्थन गरे । माओत्सेतुङ्लाई साथ दिनेले नै देङ्गश्याओपिङ्लाई पनि साथ दिए । म त हिजोको माओवादी केन्द्रको वैठकले इतिहास जनताले निर्माण गर्छन कि नायकहरुले निर्माण गर्छन भन्ने कुरालाई नै अव पुनर्विचार गर्नुपर्छ कि भन्ने ठाउँमा पुगेको छु ! हिजो कमरेड प्रचण्डले कमल थापाहरूसँग एकता गरौ भनेर प्रस्ताव राख्नुभएको भए पनि हलले बेजोड्ले ताली पड्काउथ्यो नै । तर जे होस् , कार्यशैली व्यबहार मिलेपछि बेग्लै बस्नुभन्दा एकता गरेकै राम्रो हो । माओवादी केन्द्रको कार्यकर्ता भएर एमालेलाई अनावश्यक आलोचना / गाली गर्ने मुखहरू हिजो पनि परिपक्व थिएनन् र छैनन् भन्ने कुरामा मभित्र कुनै द्विविधा थिएन । मेरा पुराना फेसबुक स्टाटसहरू साक्षी छन् ।

समय संवाद - ७

जतिसुकै दक्षिण पन्थी अवसरवादी , वाम प्रतिक्रियावादी , दक्षिण प्रतिक्रियावादीले घेरे पनि फेरि क्रान्तिकाे बाटाे खाेल्दै सम्मेलन पूरा हुँदैछ । जनयुद्ध लाई समाप्त गरेर प्रतिक्रियावादी हरुसंग विलय हुने कुरा सहिदका रगतलाई पानीमा फेर्ने कुरा मात्रै हाे ।
ईश्वरचन्द्र ज्ञवाली

ईश्वरचन्द्र ज्ञवालीलाई प्रत्युत्तर :-  

अरुलाइ गाली गर्नु बाहेक यहाँहरूको अर्को कार्यक्रम केही बुझ्न सकिएन । तपाईंहरु भन्दा गाली गर्न माहिर अर्को शक्ति जन्मियो भने नेपाली क्रान्तिको प्राधिकार शक्ति अर्कै हुने होला । गालीका शब्दहरू शब्दकोषबाट अझै खोज्नुस र तपाईंहरूकै नेतृत्वमा क्रान्ति सफल होस् ! हार्दिक शुभकामना !!!

ईश्वरजी, तपाईंले सत्तोसराप गरेको शक्ति संसदीय प्रक्रियाबाट आफ्ना कार्यक्रम लिएर अघि बढ्ने सबल शक्ति बन्नेभयो । अब तपाईंहरुले संसदीय दायराभन्दा बाहिरको एउटा सुदृढ शक्ति बनाउनुस । आफ्ना कार्यक्रम र विचारहरु मार्फत नेपाली जनताको सपनालाई बोक्ने प्रयत्न गर्नुहोस् ! नत्र , तपाईंहरूको राजनीति अर्कोलाई गने गालीमात्र देखिने सम्भावना भयो । हामीले नेपाली समाजको उत्पीडित पाटोलाई यसरी मुक्त गराउने योजना बनाएका छौँ भनेर बरु छलफल चलाउनुस । त्यस्को सकारात्मक प्रभावले संसदीय प्रक्रिया मार्फत अघि बढ्न खोजेका पार्टीहरूलाइ पनि शिक्षा दिन सकोस् । जबकि आफ्ना कमीकमजोरीहरूलाई यिनिहरूले पनि सच्च्याउने मौका मिलोस । क्रान्तिकारीहरूले अख्तियार गर्ने बाटो त यता पो होला । सोच्नुस ! एउटा मित्रको तर्फबाट शुभकामना दिनमात्र खोजेको । अन्यथा नठानिदिनुहोला । माओवादी केन्द्र र तपाईंहरूको साँस्कृतिक जग एउटै हो । यो जगलाइ परिवर्तन गर्न सक्नुभएन भने राजनीतिका नाममा तपाईंले गने पाँडे गालीले झन् गलत सँस्कृति निर्माण हुन्छ ।

=========================================



म माओवादी केन्द्र र एमालेको एकतालाई जायज देख्ने मान्छे हुँ । उस्तै उस्तै भएपछि बेग्लै बस्नु बरु अनौठो थियो । माथि नारामात्रै बेग्लै लगाइरहेका थियौं हामीले । तल एउटै अाँगनमा थियौं । मलाई त यो एकता कसैले भाडिदेला कि भन्ने डर छ । यो एकता पछि कुनै ठुलो क्रान्तिकारी काम हुन्छ भन्ने कुरामा मलाई विश्वास छैन । तर , जनताका पक्षमा सुधारवादी काम हुन सक्छन् । जस्तो ज्योति वसुले गरेका थिए । आफू त निर्मल लामाको चेलो परियो । पन्चायतलाई भन्दा बहुदल प्रगतिशील देख्ने । संबैधानिक राजतन्त्र भन्दा गणतन्त्रलाई प्रगतिशील देख्ने । त्यसैले यो एकतालाई प्रगतिशील कदम देखेको छु । क्रान्तिकारी साथीहरूले यो एकताको विरोध गरेको चाहिँ बुझ्नै सकिन ।

समय संवाद - ८

माओवादीको पराजयको अर्को  पाटो 

जनयुद्दका कारण राजनीतिको सतहमा आइपुगेका भुइँमान्छेहरू जनविरोधी संसदीय व्यबस्थाको चर्को अभ्यासका कारण फेरि भुइँतिरै फर्कन बाध्य हुँदैछन । जनयुद्दकालमा  र त्यसपछि राज्यको दोहन गरेर आफ्नो वर्ग रूपान्तरण गरेका केही छटटुहरु बाहेक जनयुद्दबाटै जनतामा स्थापित नेताहरू पार्टीले टिकट उपलब्ध गराए पनि चुनावमा उठ्ने हैसियत राख्दैनन् । आउँदो चुनावमा धेरै सिट ल्याएर जितेपनि माओवादीको पराजयको यो अर्को महत्वपूर्ण पाटो हो । 

समय संवाद - ९

करिब हप्तादिनदेखीको यातनाका कारण शरीर पुरै सुनिएको थियो । २०४६ सालको जनआन्दोलनमा म लगायत केही साथीहरू ट्राफिक प्रहरीको केन्द्रीय कार्यालयमा राखिएका थियौं । त्यसबेला त्यही कष्टडीमा शक्ति लम्साल, गणेश पण्डित, जयप्रकाश आनन्द पनि हुनुहुन्थ्यो । एकदिन राती १२ बजेतिर प्रहरीहरू उठाउन आए । अनेकौं शंका गर्दै उनीहरुले भनेको ठाउँतिर गयौं । दौरासुरुवाल र कोटमा सजिएको एउटा डल्लोडल्लो मानिसका अघिल्तिर पुर्‍याइएँ म । झण्डैझण्डै यातना दिने पुलिसकै जस्तो मौखिक व्यबहार देखाउँदै 'तँ कुनचाहिँ महामानव परिस' भन्दै मतिर टमाटरजस्ता अाँखा चम्काए ।
त्यही रात हामीलाई केन्द्रीय कारागार चलान गरियो ।
तिनै रहेछन् तत्कालीन काठमाडौंका प्रमुख जिल्ला अधिकारी केशवराज राज भण्डारी । पछि सचिव र निर्वाचन आयोगका प्रमुख पनि बने क्यारे ! केही समय अघि उनैले लेखेको किताब 'भजन र सङ्गीतमा जीवन' भन्ने किताब उपहार पठाइदिए । अवकाश पछि राम्रै काममा लागेछन भन्ने लाग्यो ।

समय संवाद - १०


नरेन्द्रजंग पिटर लेख्नुहुन्छ - 
'ब्याक्तिको रुपमा कोहि कम्मुनिस्ट रहे पनि सङ्ग्ठनकै हैसियतले नेपालमा कोहि छैनन,ट्रेडमार्कको रुपमा मात्र सिमित रहेका छन।'

================================================

प्रतिक्रियावादीहरुका विरुद्ध चुँ पनि नबोल्ने, अझ गुलामी गर्ने तर फरकफरक कित्तामा छरिएका कम्युनिस्ट पार्टीका विरुद्धमा एक अर्कोलेनै सिधा्याउने । कस्तो रोगले ग्रस्त भयो हँ नेपालको कम्युनिस्ट आन्दोलन । म त छक्कै परेँ । अरुले सक्नै नपर्ने भयो यिनिहरुलाई । आफै सकिने भए ।

=================================================

राष्ट्रबादी हुन पनि ठूलो हल्ला गर्न सक्नुपर्ने रहेछ । नेकपा (माओबादी केन्द्र) लाई गैर राष्ट्रवादी देखाउन प्रयत्न गर्ने 'राष्ट्रवादी' साथीहरुले नेपालले वान बेल्ट वान रोडमा आज गरेको हस्ताक्षरलाई के भन्ने होलान ? प्रचण्ड सरकारले राष्ट्रवादी काम गर्यो भन्ने आँट गर्न सक्लान कि नसक्लान ?

=================================================

नेपालको प्रगतिशील साहित्यको मजबुत पाठशाला श्याम प्रसाद शर्मा , जसलाई आजदेखि हामीले बिदा गर्दैछौं । उहाँका कृति र उहाँको सादा र उद्देश्यपूर्ण जीवन पढेर हामी र हामी पछिको पुस्ता निरन्तर उद्देलित र प्रभावित भैरहनेछ । हार्दिक हार्दिक हार्दिक श्रद्धाञ्जली श्याम दाइ !

समय संवाद - ११

कमरेड प्रचण्ड ! नेपाली जनताले यो सरकारबाट केके न केके खोजेका पनि छैनन् र मागेका पनि छैनन् । यत्रो दुर्घटना भएर मानिसहरुको मृत्यु हुँदा हिजो यातायात मन्त्रीले " क्षमता भन्दा बढी यात्रु बोक्नेलाई कारबाही गरिन्छ " भनेर लाजमर्दो विज्ञाप्ति निकाले । कति हो क्षमता ? यस्ता हावादारी कुरा गरेर हुदैन । तपाईंको सरकारले यातायात सिण्डिकेट मात्र फाल्न र कार्यान्वयन गर्न सक्यो भने तपाईं ५०% सफल भैसक्नुहुन्छ । यो हुन नदिन सर्वप्रथम हाम्रै पार्टीका जिल्ला नेताहरु आउनेछन् । उनीहरुको सबैभन्दा ठुलो रोजिरोटी यातायात सिण्डिकेट लगाउन पाउने सर्तमा यातायात संचालकहरूले व्यवस्था गरिदिएको सुन्नमा आएको छ । यातायात सिण्डिकेट जोगाउन जिल्लाका CDO हरुनै लाग्नेछन ।उनीहरुको पनि सबैभन्दा ठुलो रोजिरोटी त्यहीँबाट प्राप्त हुने भएर हुनसक्छ । यसपटक तपाईंको नेतृत्वमा केही जनमुखी कार्यको सुरुवात भएको छ । यातायात क्षेत्रको मुल समस्या यातायात सिण्डिकेटनै हो । यो हटाउन तपाईंलाई पनि निश्चितै सजिलोचाहिँ छैन । अाँट गर्नुहोस् ! हामी तपाईंका पछिल्तिर छौं ।

www.facebook.com बाट साभार 

No comments:

Post a Comment