जीवनलाई मूल्याङ्कन गर्ने विभिन्न विधा र क्षेत्र हुन्छन् । साहित्य पनि जीवन र जगतलाई मूल्याङ्कन गर्ने एउटा दृष्टिकोण हो । कविहरुले विश्व ब्रम्हाण्डभित्रका धेरै सन्दर्भहरूको चर्चा गरे । पुराना केही कविहरूले मानिसलाई अन्तै कतै छाडिदिएर अलौकिक दुनियाँको चर्चा गरे । आधुनिक कविहरूको ठूलो समूहले मानिसका चिन्ता, आवेग, छट्पटी, सपना यावत कुराहरूमा कलम चलाए। अझै पनि कविहरूले आफ्नो लेखन मार्फत नयाँनयाँ प्रयोग र खोजी गरिरहेकै छन् । कविहरूले कवितामार्फत परिवर्तनको आग्रह लेखे । इतिहाम लेखे, सपना लेखे । कविहरूले समयसँग सम्वाद मात्र गरेनन्, एउटा चेतना पनि लेखे । राणा शासनको पछिल्लो समयदेखि अहिलेसम्म आइपुग्दा हाम्रो देशमा कविता चेतना प्रशारणको एउटा महत्वपूर्ण माध्यम बनिरह्यो ।
नेपाली कवितामा आधुनिकताको प्रवेश गद्य कविताको आरम्भ पछि मात्र भयो। आधुनिकता भन्नु नै चेतनाको प्रवेश हो । गोपालप्रसाद रिमालले कवितामा नयाँ शैली र शिल्प मात्र दिएनन् । उनका कविताको केन्द्रीय विषयवस्तु चेतना थियो। त्यस यताका सम्पूर्ण जसो गद्य कविहरू कवितामा एउटा परिवर्तनको स्वर लिएर प्रवेश गरे । यसो भनेर विगतको एउटा झिनो पाटोलाई विर्सनु पनि हुँदैन। गद्य कवितामा हात हाल्ने एउटा सानो हिस्साले परिवर्तनलाई छेक्न, रोक्न प्रयत्न पनि गर्यो । तर त्यो सानो हिस्साको नेपाली गद्य कवितामा प्रवेश गरेको चेतनाको आँधीहुरीका सामुन्ने केही जोर चलेन । नेपाली कवितामा यदाकदा देखापर्ने चेतनाविरोधी त्यो स्वरलाई समयले कतै किनारातिर मिल्काइदियो । नेपाली गद्य कविताको त्यो सचेत स्वर अहिलेको समकालीन कवितामा पनि प्रवाहित छ । त्यही निरन्तरताको एकजना प्रतिभाशाली स्रष्टाको नाम हो टङ्कमणि अधिकारी ।
तीन वर्ष नपुग्दै कवि टङ्कमणि अधिकारीको दोस्रो कवितासङ्ग्रह 'हिटलर र भाले' प्रकाशनको तयारीमा छ । पहिलो कवितासङ्ग्रहदेखि दोस्रो कवितासङ्ग्रहसम्मको आद्योपान्त पढ्ने पाठक भएको नाताले कविको यो सक्रियता मलाई विशेष र उल्लेखनीय लागेको छ । कवि टङ्कमणि अधिकारीको काव्ययात्रालाई लिएर मभित्र यतिवेला हाम्रो काव्यिक जगतको बारेमा केही प्रश्न र जिज्ञासा उठिरहेका छन् । कवि टङ्कमणिको प्रतिभा अहिले पनि अँध्यारो कुनामा परिचय खोज्ने क्रममा छ । त्यसको एउटा कारण त कवि आफैं जिम्मेवार हुनुहुन्छ । कवि टङ्कमणिको तुलनामा थोरैमात्र प्रतिभा भएका कविहरू नेपाली कविताको मैदानमा चर्चा बटुलीरहेका छन् । यति सुन्दर कविताका स्रष्टाको स्वर अझसम्म अँध्यारो कुनामा किन हराइरहेको होला ? मलाई जस्तै यो प्रश्न कवि टङ्कमणिका कविता पढ्ने जोसुकैलाई पनि लाग्न सक्छ ।
यस कवितासङ्ग्रहमा अठासी वटा कविताहरू समावेश गरिएका छन् । कवि अधिकारीले सम्पूर्णजसो कविता मार्फत् नेपाली जीवनले भोगेको संवेदनालाई सुन्दर शिल्पको माध्यमले अभिव्यक्त गर्नुभएको छ । करिब करिब भन्नुपर्दा हाम्रो देशको बेथिति, अन्याय र अत्याचारका विरुद्धमा एउटा क्षेप्यास्त्र नै हान्नु भएको छ, सुन्दर कलाको माध्यमबाट ।
कवि टङ्कमणि अधिकारीका छिमलका अधिकांश प्रतिभाहरू दूरदराजबाट एउटा सपना बोकेर काठमाडौं प्रवेश गरे । दूरदराजमा देखेको सपना र आफूले भोगेको यथार्थको बिचमा बनेको खाडल निकै फराकिलो थियो । कविहरुले त्यसै अनुभूतिबाट निर्मित नयाँ यथार्थलाई प्रस्तुत गर्नु स्वभाविकै थियो । त्यो यथार्थ वा असमंजस परिस्थितिको भोगाइलाई त्यो प्रतिभाशाली पुस्ताले कलात्मक ढङ्गले कवितामार्फत प्रस्तुत गर्यो । त्यो व्यक्तिगत जीवनको आरोह अवरोहमा मात्र सिमित थिएन । देशको बन्द राजनीतिक अवस्थाको प्रतिरोधपूर्ण चित्रण पनि कवितामार्फत्
व्यक्त भयो । झण्डै बिसको दशकदेखि साठीको दशकसम्म गाउँ र शहर बिचको अन्तर, सामाजिक चेतनाको विकास र सत्ताको चरित्र बिचको अन्तर अर्थात सपना र यथार्थका बिचको विशाल अन्तर वा खाडलनै नेपाली कविताको मूलधार बन्यो । त्यही असमंजसपूर्ण स्थितिलाई नै कविहरुले कवितामार्फत् अभिव्यक्ति दिए । त्यही चेतनाका कविहरू नै यो समयका प्रतिनिधि कवि भए । काव्य जगतमा पाठकहरूको आँखामा पछिल्लोपटक देखा परे पनि कवि टङ्कमणि अधिकारी त्यही छिमलको काव्यधाराका प्रतिभाशाली कवि हुनुहुन्छ । उहाँको प्रतिभा त्यही चेतनाबाट निर्मित काव्यिक व्यक्तित्व हो । एउटा कालखण्डमा उहाँ सक्षम पाठक र फाट्फुट मात्र कविता लेख्ने स्रष्टा हुनुहुन्थ्यो । उहाँका केही कविताहरू फाट्फुट रूपमा पहिले पनि प्रकाशित छन् । तर नेपाली काव्य बजारभित्र उहाँको हस्तक्षेपकारी उपस्थिति धेरै पछिमात्र भयो । उहाँकै छिमलका अझ भनौं उहाँले परिस्कृत बनाउन सहयोग गरेका कैयौं प्रतिभाहरुले नेपाली कविताको इतिहासमा नाम दर्ता गरे। तर उहाँको प्रतिभा दीर्घकालसम्म कुण्ठित भएर बसेन । यतिवेला नेपाली कवितामा उहाँले देखाउनुभएको काव्यिक गति उल्लेखनीय छ ।
संग्रहमा भएका सम्पूर्णजसो काव्यिक स्वरहरू हामी सबै नेपालीका प्रतिनिधि आवाज हुन् ।
ऊ क्रान्ति हो, शान्तिको, सभ्यताको
आवाज हो समयको
डराउन्न ऊ जनता हो गणतन्त्रको
होस गर छेक्न पल्केका
वर्तमानका निर्दयी तानाशाहहरू हो
ऊ आउँछ अवश्य आउँछ
क्रुरताका निशानीहरू रित्याएर
धर्तीको मुहार हसाउँछ
आउन बाँकी छ, आतुर छ ऊ आउँछ ।
( - ऊ आउन बाँकी छ )
सत्तरीको दशकमा नयाँ पुस्ताका कविहरूको चिन्ता सँगसँगै पुराना कविहरूको चिन्ता पनि नेपाली कवितामा बग्रेल्ती देखा पर्यो । त्यो चिन्ता थियो- लोकतन्त्र निरिह बन्दै गएको चिन्ता । यो स्वर गुन्जाउने अधिकांस कविहरु लोकतान्त्रिक थिए । लोकतन्त्र प्राप्तिको आन्दोलनमा उनीहरूको कहीं न कहीं योगदान थियो। यो पंक्ति कवि टङ्कमणि अधिकारीको पाण्डुलिपि भित्रबाट लिइएको एउटा उदाहरण मात्र हो। प्रस्तुत सङ्ग्रह भित्र उहाँका धेरै कविता हरुमा यो चिन्ता व्यक्त गरिएको छ। केही कविताहरूमा कवि अधिकारीले सत्ताको संवेदनहीन चरित्रको पर्दाफास गर्नुभएको छ ।
क्रान्ति हुन त तिमी आयौ
पटक पटक आयौ
तर परिवर्तन कुनै पटक भएन
भोकाहरु भोकै छन्
तिर्सनाहरू अलपत्र परिरहेकाछन् सत्तासित मुर्खहरूको तमासा हेरेर क्रान्ति मुर्छा परेकी छन्
तै पनि म तिमीलाई ब्यूँझाउन
समय बोलाइरहेको छु ।
( - क्रान्ति )
कविता काव्यमा बिम्बको महत्व अनिवार्य जस्तै मानिन्छ । कविता बिम्बमैं सोचिन्छ, बिम्बमैं अभिव्यक्त गरिन्छ । कविताको कलात्मक सफलता त्यसैले निर्धारण गर्छ । त्यसैले पनि कविता बुझ्न निधार खुम्च्याउनु पर्छ भन्ने गरिन्छ । तर, यस्ता कविताहरू पनि छन्, तिनीहरू विम्बमैं लेखिन्छन् तर मानिसहरुलाई बोध गर्न निधार खुम्च्याइरहनु पर्दैन ! कवि अधिकारीका अधिकांस कविताहरूले यो क्षमता राख्छन् । मनिसहरूको भग्न मनोदशालाई कलात्मक अभिव्यक्ति दिनु कवि अधिकारीको महत्वपूर्ण विशेषता हो ।
स्वाभिमानमा कालिपोके लागेको छ जीवन त रोयो रोयो
घात देखेर मुर्दा स्वयं रोइरहेको छ
सातभूत जिन्दगी
अकारण किन बेकार भएको छ ?
( -शिर उठ्नुपर्छ )
कवि टङ्कमणि अधिकारीका कविताहरूको अर्को महत्वपूर्ण स्वर नेपाली जनताले भोगिरहेको गरिबीजन्य वाद्यताको चित्रण हो । कवि अधिकारीका केही कविताहरू जस्तो - 'हामी बाँचेको समय यही हो', 'वर्षदो असार', 'रजस्वला पछिको असार' आदिमा आफ्ना परिवार र गाउँ घरलाई छोडेर मरुभूमिमा श्रम गर्न जान वाध्य नेपाली युवाहरूको संवेदनाले भरिएको कलात्मक चित्रण छ ।
तन्नेरीहरू भोक भर्न मुग्लान पस्नुअघि
युवतीहरूको सिउँदो भरियो
कठै ! कलकलाउँदो यौवनको तिर्खा मेटिएन
खसम बोकेर जहाज ओर्लियो
लास आयो, जीवन बोकेर सपना आएन ।
( - वर्षंदो असार )
कवितालाई नजिकबाट बुझ्नेहरु भन्ने गर्छन्- 'सुन्दर कविता बन्न कविमा अलिकति पागलपन चाहिन्छ।' कवि टङ्कमणिमा कवितालाई सुन्दर बनाउन चाहिँदो पागलपन छ | एकजना पाठकको नाताले कवि टङ्कमणिको काव्यिक कर्ममा मैले एउटा गजवको नवीनता भेट्ने गरेको छु । धेरै कविहरूमा नभेटिएको नवीनता । यो कवितासङ्ग्रह समग्रमा भन्नुपर्दा नेपाली काव्य भण्डारमा महत्वपूर्ण हस्तक्षेप हो र सुन्दर नेपालको खोजी गरिएका सपनाहरूको काव्यिक दस्तावेज हो ।
०००
No comments:
Post a Comment