धामीले फुकेर रोग निको पार्ने र ज्योतिषले भुइँ कोरेर मान्छेको भाग्य बताउने कुरा मेरो निम्ति उस्तै लाग्थ्यो । धामीले जोखना हेरेर चामल गन्ने, ज्योतिषले कुण्डली हेरेर औंला गन्ने । आखिर दुबैले गन्ने र अनुमानले भन्ने हो । त्यो भन्दा पर के छ र ? आस्थावान मान्छेहरू यी दुई पेसाकर्मीलाई असाध्यै मूल्य दिन्छन् तर मैले भने यिनलाई पाई पैसा भन्दा बढी थान दिन सकेको थिइन । थान दिनु पनि किन पन्यो र ? भोलिका कुरामा कसले विश्वास गर्छ र ? भोलि के हुन्छ, के हुँदैन । भोलि त एउटा सपना हो ; कल्पना हो ; बाँच्ने आशा हो जीवनको भरोसा हो।
मेरो अल्लरे यौवनदेखि तीन कोरी छेउसम्म आइपुग्दा अनगिन्ति धामी र ज्योतिषीसँग मैले साक्षात्कार गरेको छु । अझ सुनेका र सुनाइएका पात्रहरूको त लेखाजोखा नै छैन। ती मध्ये केहीको स्मरण आजसम्म ताजै छन् ।
ओख्ले गैरीगाउँ बस्ने 'भालुकोरे' र 'रेवन्ते' मगर विरामी नहेरीकनै खबर लिएर आउने मानिसको मुखाकृति हेरेर मर्ने बाँच्ने बताइदिन्थे रे ! बडहरे खोलाकी लाफी सुनुवार्नी हस्तरेखा हेरेर आयु बताउँथिन् । रुपाटारका साहिँला बुढाथोकी औंला भाँचेर केटाकेटीको बिहे जुराउँथे । उनको वाक्य भने प्रस्ट थिएन । यिनीहरूको पढाइलेखाइ चाहीं गर्भे कक्षा मात्र हो । प्रकृति नै यिनका गुरु थिए ।
ज्योतिष विज्ञानको क्षेत्रमा चर्चा कमाएका नामहरु मध्ये हजारौं होलान् । ती मध्ये कोही सिमित क्षेत्रमा सिमातीत भए भने कसैको नामले शिखर चुम्यो । यिनै चर्चित नामहरुको अग्रणी व्यक्तित्व थिए ज्योतिषविज्ञ स्व. नन्दलाल उपाध्याय अर्थात् 'थामखर्के कान्छा बा'। उनको जन्म वि.सं. १९७० सालमा उदयपुर जिल्लाको तत्कालिन ठानागाउँको धापपानी भन्ने ठाउँमा भएको थियो । उनी ज्योतिषि राइटर कुलप्रसाद पोखरेलका कान्छा छोरा हुन् । उनका पिता राणाकालिन राइटर भएकाले उनको शिक्षा दीक्षा पनि काठमाण्डौंमैं भयो । स्रेस्ता पाठशालामा पाँच पास भएको भन्ने सुन्थ्यौं हामी । उनको औपचारिक शिक्षा स्रेस्ता पाठशालामा पाँच पास भए पनि ज्योतिष विज्ञानतर्फको स्वध्यायन भने अति विशिष्ट प्रकृतिको थियो । उनको घरमा बीसतीस जना मान्छेहरुको दैनिक ओहोरदोहोर हुनु सामान्य मानिन्थ्यो । ज्योतिषि नन्दलालले भविष्यवाणी गरेका विषयमा कसैको विमति हुँदैनथ्यो । उनको ज्योतिषी ज्ञानको बासना केबल उदयपुर जिल्लामा मात्र सीमित रहेन । छिमेकी जिल्लामा समेत मगमग भएर बस्यो । उनका भविष्यवाणी राणाकालीन लालमोहर जत्तिकै अकाट्टे थिए । धेरै मानिसहरू उनलाई भगवानको अवतार मान्थे । नमानुन् पनि किन र ? मान्छेको भाग्य र भविष्य मात्र होइन, प्रकृतिप्रकोपका अनेकन घटनामा समेत उनका वाणीले बिस्तुर खाएनन् । 'आकासको राहु पतालको केतु एकपटक नपरी कसरी चेतुँ' भनेझैं मानिसको टाउकामा समस्याका घन ठोकिन थालेपछि अत्तालिन्छ ; भौतारिन्छ र लरखराउँदै समाधान खोज्न धामी, झाँक्री, वैद्य र ज्योतिषीको सरणमा पुग्छ । यस्तै सरणार्थीहरु मध्ये म पनि एक हुँ जुन आफ्ना ज्योतिषविज्ञान सम्बन्धी ठेट्ना तर्कहरुलाई बिस्कुन सुकाउँदै थामखर्के कान्छा बाको हत्केलामा पुर्पुरो टेकाउने । मनलाई सम्हाल्न नसकेपछि के लाग्दो रहेछ र ? कान्छा बाको अगाडि मनका कुरा फोएँ । ज्ञानका लागि रोएँ । समाधानको निम्ति विन्तीको भारी बिसाएँ ।
विक्रम सम्बत २०४४ सालतिरको कुरा हो । म गाउँकै विद्यालयमा शिक्षक थिएँ । मेरो कान्छो काका सिराहा क्याम्पसमा पढ्नुहुन्थ्यो । बारम्बार मलाई क्याम्पस पढ्न आइज भन्ने सल्लाह दिनुहुन्थ्यो । म चाहिँ टाउको मात्र हल्लाउँथें । पढ्न जाने मन थिएन । म घरको जागिरे छोरो, स्कुलको सर थिएँ । गाउँका सामान्य मान्छेहरू मलाई माडसाप भन्थे । गर्वले मेरो छाती फुलेल हुन्थ्यो । मेरो पढ्ने मनसाय नदेखेपछि काकाको कन्सिरी तातेछ । वंशको तीन पुस्ते खुलाउँदै मैले टेकेको धरातल भासिने गरी चिर्कटो लेखेर झटारो हानेपछि म क्याम्पस पढ्न जान राजी भएँ । पढ्न त जाने नै भैयो । विद्या रेखाको अवस्था के होला त ? मनको खुलदुली मेट्न मलाई कान्छा बालाई भेट्न मन लाग्यो ।
बिहानको झिसमिसेसँगै व्युँझेछु म । नुहाइधुवाइ गरेर पवित्र बनें । हातमा फूलअक्षता बोकेर मेरो यात्रा अगाडि बढ्यो थामखर्के बाको मकानतिर । बाटोमा मेरो मन तुलवुलिरह्यो । मैले सुनेको थिएँ, बुढाको अविवादन ग्रहण गर्ने तरिका सांकेतिक छ रे । मनपरेको मान्छेलाई दाहिने हात थाप्लोमा राखिदिने र मन नपरेकालाई देब्रे हातको औंला उल्टो पारेर निधारमा राखिदिने । धन्य ! म भाग्यमानी नै रहेछु ।
केही समयको भलाकुसारीपछि हामी विषयक्षेत्रमा प्रवेश गर्यौँ । मैले जिज्ञासाको बेलिविस्तार लगाएँ । ज्योतिषि बाबाट पनि कागजमा मसीको रेखी लगाउँदै मेरो ग्रह, दशा र योग, नक्षेत्रका जोड़-घटाऊ सुरू भयो । म मूर्तिवत भएर बसिरहें ।
क्याम्पसमा नाम लेखाएर पनि मेरो त्यो साल पढ्ने वातावरण मिलेन । बहिनीको विवाह र दाइको एस. एल. सी. परीक्षा जस्तो समस्याले मलाई चौखुऱ्यायो । पैसा तिरेको रसिद गोजीमा राखेर चित्त बुझाएँ ।
समय बित्दै गयो । म २३ वर्षे जवानी बोकेर क्याम्पसतिर लागें । मेरो अध्ययनमा कुनै रोकावट भएन । म रेगुलर पास गर्दै गएँ । मेरो मानस्पटलमा कान्छाबाको उर्जा थियो । वि.सं. २०५० सालमा मैले नेपाली मूल विषय लिएर वी. एड पास गरें । एक, डेढ वर्ष मेरो जागिर खोज्दै वित्यो । वि.सं.२०५२ साल श्रावण ३१ गते रूपाटारकै स्कुलको मा. वि. तहमा नियुक्त भएँ ।
२०५५ साल वैशाख १८ आइतबारका दिन म नयाँ घरमा प्रवेश गरेँ। २०५६ साल वैशाख १८ गते शनिवारका दिन ९:३० बजेको समयमा मेरो छोराको जन्म भयो । छोरो जन्मिएको छ महिनापछि म फेरि चिन्हा लगाउन गएँ । कान्छाबाको निर्देशनमा छत्रबहादुर खड्काले छोराको चिन्हा लेखिदिएकाछन् । चिन्हाको ग्रहदशा अनुसार भाइबहिनीतर्फ शत्रुग्रह परेकाले जन्म हुनै नदिने बताइएको छ ।
थामखर्के कान्छाबाले म र मेरो पारिवारिक जीवनमा बताइएका भविष्यवाणीहरु कपुरी 'क' देखि दन्त्य 'स' सम्म पुगेका छन्। राजनीतिक क्षेत्रमा बताइएको समेत पुग्यो भने गाँठो पर्यो 'ज्ञ' नपुग्ला भन्न सकिन्न । समयमै ज्योतिष सम्बन्धी ज्ञान लिन मलाई कान्छाबाले सुल्झाउनु भएको थियो । समयको महत्वलाई बुझ्न नसक्दा आज म एक ढाकर पछुतो बोडेर हिंडिरहेको छु ।
धन्य कान्छाबा ! हजुरको अलौकिक र चमत्कारी ज्ञानप्रति मेरो सधैं श्रद्धाले शिर निहुरीरहन्छ । मेरो जीवनको पलपलमा यहाँका वाणीहरु प्रवाहित छन् । गर्भमा नआई मेरो छोरो जन्मने तिथिमिति बताई दिनुभयो । कटक वहादुर खड्काको मृत्यु दस वर्ष पहिले नै घोषणा गर्नुभयो । यहाँको ज्योतिष दर्शनप्रति अनुयायीहरू मुक्तकण्ठले प्रशंसा गर्छन् । मलाई आशा र विश्वास पनि छ । यहाँको वंश वंशान्तरमा त्यो ओजस्वी ज्ञानपुञ्ज पुन: आलोकित हुनेछ ।
ज्योतिषविज्ञ थामखर्के कान्छाबाको भौतिक शरीर आज यो संसारमा छैन । उहाँले कोरेको गोरेटोमा सयौं शिष्यहरु लामबद्ध छन् । कति त उहाँको दर्शन समातेर व्यवसायिक नै बनेका छन्। उहाँको परमपद् बैकुण्ठ बनोस । सम्झनाको यस घडिमा हार्दिक श्रद्धाञ्जली थामखर्के कान्छा बालाई । अस्तु ।
000
- ताप्ली ५, रूपाटार, उदयपुर
No comments:
Post a Comment