Thursday, July 27, 2023

वैचारिक प्रतिबद्धताले लेखनलाई कमजोर होइन अझ शक्तिशाली बनाउँछ ( अन्तर्वार्ता - मातृका पोखरेल )

अन्तर्वार्ता 

वैचारिक प्रतिबद्धताले लेखनलाई कमजोर होइन अझ शक्तिशाली बनाउँछ

मातृका पोखरेल
पूर्व अध्यक्ष एवम् सल्लाहकार
प्रगतिशील लेखक सङ्घ, नेपाल

१) अभिवादन, तपाईंको स्वास्थ्य कस्तो छ ? दिनचर्या कसरी वित्दैछ ?

तपाईलाई पनि अभिवादन ! स्वास्थ सामान्य छ । दिनचर्याको कुरा गर्नुपर्दा संगठनात्मक, सिर्जनात्मक र भाषा आयोगसँगको संयुक्त कामलाई तालमेल बनाउन अलिक गाह्रो परिरहेको छ । तर पनि यी तीनवटै कामलाई व्यवस्थापन गर्ने कोसिस गरिरहेको छु ।

२) प्रगतिशील लेखनका क्षेत्रमा तपाईंको आरम्भ र प्रथम रचना / कृति कुन होला ?

प्रगतिशील लेखन क्षेत्रमा मेरो आरम्भ वि.सं. २०४१ सालदेखि भयो । लेख्न त म २०३६ तिरै कविता लेख्ने गर्थें । तर ती कविताहरू प्रगतिशील भावधारासँग निकट थिएनन् । जब म  वि.सं. २०४१ देखि मार्क्सवादी पाठशालाको विद्यार्थी भएँ, त्यसले मेरो साहित्यिक लेखनमा पनि प्रभाव पार्‍यो ।  मेरो पहिलो प्रकाशित रचना  समीक्षा साप्ताहिकमा  वि.सं. २०४५ सालमा छापिएको ' सूर्य उदाउ अब' भन्ने शीर्षकको कविता हो भने पहिलो कृतिका रुपमा वि.सं. २०५७ सालमा प्रकाशित कवितासङ्ग्रह 'सेतो दरबारको छेउबाट'  हो ।

३) प्रगतिशील लेखक सङ्घसम्बन्धी यहाँको अनुभव / दृष्टिकोण कस्तो छ ?

प्रगतिशील लेखक सङ्घसँग मेरो संलग्नता काठमाण्डौं आउने वित्तिकै अर्थात वि.सं. २० ४४ सालदेखिको हो । पहिलो पटक म  केही साथीहरुको पछि लागेर  प्रगतिशील लेखक सङ्घको प्रथम राष्ट्रिय सम्मेलन सम्मेलनस्थल ल क्याम्पसमा पुगेको थिएँ । प्रलेसको सभामा मेरो उपस्थिति पहिलो थियो त्यो । आफूले पढेका मानिसहरुलाई मञ्चमा देख्दा निकै रोमाञ्चित भएको थिएँ । सर्वप्रथम पारिजात, रमेश विकल, आनन्ददेव भट्ट आदिलाई त्यहीं मञ्चमा देखेको थिएँ । त्यसपछिका प्रलेसका सबै जसो कार्यक्रमहरूमा मैले जोडिने मौका प्राप्त गरें । एकप्रकारले भन्ने हो भने प्रलेस मेरो दह्रिलो पाठशाला हो । त्यसपछि पनि प्रगतिशील लेखक सङ्घका सबै सम्मेलनमा सहभागी हुने अवसर पाएँ । अधिकांस कार्यसमितिमा रहेर कुनै समय राष्ट्रिय परिषद् सदस्य, कोषाध्यक्ष, सचिव, उपाध्यक्ष, अध्यक्ष र सल्लाहकारको संगठित भूमिका निर्वाह गरेको छु। त्यसैले पनि यो संस्थामा काम गर्दाका धेरै सकारात्मक नकारात्मक अनुभव हुने नै भए । यो विविध विचार राख्ने प्रगतिशील लेखकहरुको साझा संगठन हो । त्यसैले पनि यो संगठनको संचालन आफैंमा चुनौतिपूर्ण छ । सांगठनिक र वैचारिक समस्याका कारण हामीले चौथो राष्ट्रिय सम्मेलन वहिष्कार गर्‍यौँ पनि । त्यसपछि फेरि पाँचौं राष्ट्रिय सम्मेलनको तयारी समितिमा बस्यौं । बाहिर सांगठनिक देखिए पनि यसको भित्री कारण वैचारिक नै थियो । श्यामप्रसाद शर्माको पुरस्कार प्रकरण र राष्ट्रघाति महाकाली सन्धी नै मूख्य अन्तर्यमा थिए, यो सम्मेलन बहिष्कार गर्नुका कारण  । संयुक्त मोर्चाको अवधारणालाई लागु गर्न नसक्नु त अर्को कारण छँदै थियो ।
प्रगतिशील लेखक सङ्‌घको अब आवश्यकता छैन भनेर वैचारिक कारण देखाउँदै केही साथीहरूले बीचबीचमा सङ्घ छाडिरहनुभएको छ । वैचारिक कारण देखाउँदै छाड्नु भएकोले धेरै भन्नु त केही छैन तर छाड्ने साथीहरूलाई   मेरो अझै एउटा अनुरोध छ - खण्डित शक्तिले प्रतिरोध  गर्न अहिले झनै सजिलो नभएकोले प्रगतिशील लेखक सङ्‌घमैं आएर बचेखुचेको सामन्तवाद, विस्तारवाद र साम्राज्यवादका विरुद्धमा सिर्जना र विचारको माध्यमबाट संयुक्त प्रतिरोध गरौं । त्यो नै समयको आवश्यकता हो । प्रगतिशील लेखक सङ्घ  प्रगतिशील/प्रगतिवादी सम्पूर्ण लेखकहरूको संयुक्त सङ्घ हो । प्रगतिवादको छेउमा पुगिनसकेका  सामन्तवाद, विस्तारवाद र साम्राज्यवादका विरुद्धमा मात्र कृयाशील हुने स्रष्टाहरुलाई यहाँ हामीले स्थान दिन सक्नुपर्छ । हामी आफ्‌नो अनुकूलको प्रगतिवादी संगठन बनाउन आ-आफ्नो सांस्कृतिक संगठनमा स्वतन्त्र छौं । मार्क्सवादी साहित्य संस्कृतिलाई हामीले आफ्नै संगठनबाट जनताका बीचमा पुर्‍याउने कोसिस गरौं । प्रगतिशील लेखक सङ्घलाई हामीले मार्क्सवादको नजिक भएका,  नभएका  सामन्तवाद र साम्राज्यवाद विरोधी सम्पूर्ण स्रष्टाको साझा थलो बनाउँ । समयको माग पनि त्यही हो । बामपन्थी नामका पार्टीहरू सत्तामा गए  पनि जनताको चाहना र आवश्यकताभन्दा टाढा पुगेर उनीहरुले राष्ट्रियताको पक्षपोषण गर्न छाडे भने, सामन्तवादको पक्षपोषण गर्न थाले भने, साम्राज्यवादको पक्षपोषण गर्न थाले भने उनीहरुकै विरुद्धमा पनि  खबरदारी गरौं । अहिले पनि राष्ट्रघाति MCC को विरुद्धमा हामीले राम्ररी अभियान सञ्चालन गर्न सकेनौं । हामी यहाँ नेर केही चुक्यौं । वामपन्थी नामका राजनैतिक पार्टीहरूले पनि आफूलाई खरो रुपमा प्रस्तुत गर्न सकेनन् । यो हाम्रो इतिहासको दुखद पाटो हो । संसदमा गएका राजनैतिक पार्टीहरूले बेलाबेलामा जनविरोधी कार्य गर्ने गरेका छन् । तर हामी स्रष्टाहरू सचेत बनौं । सच्चा प्रगतिशील लेखकहरूले वहन गर्नुपर्ने दायित्व नै  त्यही हो । यो अहिलेको समयको माग पनि हो ।

४) समाजवादोन्मुख राष्ट्रिय लक्ष्य प्राप्तिका लागि समग्र राष्ट्रिय अन्तर्राष्ट्रिय फलकमा हेर्दा अबको प्रगतिवादी लेखन कस्तो हुनुपर्छ ?

समाजवादोन्मुख मात्र भनेर भएन ।समाजवादोन्मुख राष्ट्रिप लक्ष्य नारा र गफमा मात्र सिमित हुनु भएन । उन्नत र वैज्ञानिक संस्कृति र कार्यक्रमको विकास नगरीकन समाजवाद फगत ढोंगी नारा मात्रै हुन्छ । हामी सबै पनि समाजवाद -समाजवाद भनेर भनिरहेका छौं । हामी प्रगतिशील लेखकहरूले विगतमा बहुदलीय व्यवस्था प्राप्तीको संघर्षमा लड्यौं । गणतन्त्र प्राप्तिको आन्दोलनमा स्रष्टाहरुको  भूमिकालाई  लिएर हेर्ने हो भने करिवकरिव नेतृत्वदायी भूमिका प्रलेसको थियो । लोकतान्त्रिक समाजवादको लागि पनि लड्न जरूरी  थियो, लड्‌यौं ।  प्रलेसभित्र प्रगतिशील स्रष्टा पनि हुनुहुन्छ र प्रगतिवादी स्रष्टा पनि हुनुहुन्छ । अब  कस्तो समाजवाद भन्ने कुरा आउँछ ।  कुन समाजवाद भन्ने प्रश्न उठ्छ । यो बारेमा छलफल भएकै छैन । अरुले त सोचेनन् सोचेनन् ,  यो बारेमा प्रगतिशील लेखकहरूले चाहिँ सोच्नु जरूरी छ । हामी मुखले समाजवाद  भनिरहेका छौं, व्यवहारमा निवर्गीय मूल्य मान्यतालाई विस्तार गरिरहेकाछौं , दलाल पूँजिवादका अनुयायीहरुसँग काँध मिलाएर प्रतिक्रियावादी संसदीय व्यवस्थालाई सुदृढीकरण गर्दै समाजवादको नारा भट्याउनु कति जायज हो ? कस्तो समाजवाद भन्ने प्रष्ट नपारी समाजवादको नारा उराल्नु आन्दोलनकारी चेतनालाई भ्रमित पार्ने र आफूलाई संसदीय राजनीतिमा परिसीमित गर्ने अर्को छलछाम हो । बुर्जुवा समाजवाद कि वैज्ञानिक समाजवाद ? निर्क्यौल हुनु पर्दैन ? हामी लेखकहरु पनि कोही द्वन्दात्मक भौतिकवादी विश्वदृष्टिकोणअनुसार  साहित्यको सृजना गर्नुपर्छ भन्नेछौं । द्वन्दात्मक भौतिकवादी विश्वदृष्टिकोण  अवलम्बन गर्ने स्रष्टाले समाजवादी यथार्थवादी रचना विधिलाई अङ्गिकार गर्नुपर्छ । यो नटुङ्ग्याइकन समाजवादको  कुरा गर्नु र  समाजवादोन्मुख हल्ला मात्र गरेर हुंदैन । यो विषयमा हामी सचेत नभइकन हुँदै हुँदैन । प्रलेस बहुदल प्राप्तिको आन्दोलन र लोकतान्त्रिक आन्दोलनका लागि पनि लडेको संस्था हो । तर अब कस्तो समाजवाद भनेर छलफल चलाउन जरूरी छ । अबको प्रगतिवादी लेखनले अबको हाम्रो  समाजवादको यात्रा ' वैज्ञानिक समाजवाद' को यात्रा हो भन्न सक्नुपर्छ ।

५) प्रगतिशील र प्रगतिवादी साहित्यको समानता र भिन्नता के हो ?

हामीकहाँ यिनलाई यदा-कदा पर्यायवाची या समानार्थी शब्दका रुपमा लिने चलन पाइन्छ । तर वास्तवमा यी पर्यायवाची शब्द हुँदै होइनन् । यिनले दिने अर्थमा निकै ठूलो भिन्नता छ । खासगरि प्रगतिशील शव्दलाई नेपाली साहित्यमा प्रगतिवादकै पर्यायका रुपमा बुझ्ने र प्रयोग गर्ने काम हामी प्रगतिशील लेखन क्षेत्रका अभियन्ताले पनि  गरिरहकाछौं ।  'प्रगतिवाद' मार्क्सवादको दार्शनिक, सैद्धान्तिक र राजनैतिक गहनता एवं त्यसको महत्तालाई वहन गर्ने शब्द हो । 'प्रगतिशील'  शब्दले  मार्क्सवादको  महत्तालाई वहन गर्न सक्दैन । यहाँ बुझ्नु पर्ने के छ भने सवै प्रगतिवादीहरु  प्रगतिशील हुन्छन् तर सवै प्रगतिशील हरू मार्क्सवादी, प्रगतिवादी हुँदैनन् र हुनपनि जरूरी छैन । त्यसैले यिनलाई एउटै ठान्ने चिन्तन सर्वथा गलत छ । प्रगतिवादी साहित्य मार्क्सवादी सौन्दर्यशास्त्रलाई अंगीकार र आत्मसात् गर्दै त्यसका आलोकमा लेखिने साहित्य हो । प्रगतिवादी साहित्यले वर्गविहीन समाजको रुपमा सबै किसिमका शोषणका रुपहरुबाट समाजको मुक्ति चाहन्छ । समाजका सम्पूर्ण असमानता र जडताबाट मुक्ति प्रगतिवादी साहित्यको चाहना हो ।  'प्रगतिवाद'  कुनै पनि अलौकिक सत्ताको विरुद्धमा हुन्छ । प्रगतिशील साहित्यले सामन्तवाद र साम्राज्यवाद विरोधी चिन्तनमात्र राखे पुग्छ । समाजको प्रगतिको चाहना राखे पुग्छ । समाजलाई प्रगतिको दिशामा अघि बढाउने र मानव विकास र समुन्नतिमा जोड पुऱ्याउने उद्देश्यका साथ सृजना गरिने साहित्यलाई प्रगतिशील साहित्य भन्नुपर्छ ।

६) प्रगतिशील र प्रगतिवादी साहित्यको उन्नयनमा यहाँको मूल्याङ्कनमा प्रगतिशील लेखक सङ्घको
आजसम्मको भूमिका कस्तो रह्यो र भविष्यमा कस्तो हुनुपर्ला ?

प्रगतिशील र प्रगतिवादी साहित्यको उन्नयनमा  प्रगतिशील लेखक सङ्घको सर्वोपरी भूमिका रहेको कुरा सङ्घको इतिहास पढ्दा हामी थाहा पाउँछौं ।
प्रगतिशील लेखक सङ्घको स्थापना पश्चात यसको मुखपत्र 'प्रगति' प्रकाशित हुन थाल्यो र त्यसका जम्मा सोह्र अङ्कहरू प्रकाशित भएका छन् । यो पत्रिकाले नेपाली साहित्यमा महत्वपूर्ण भूमिका खेलेको इतिहास भेटिन्छ ।

प्रारम्भमा प्रगतिशील लेखक सड्घले  श्यामप्रसाद शर्माको  –“लेखक कसरी बन्ने ?” शीर्षकको पुस्तिका प्रकाशित गर्‍यो । मानिसहरुले  त्यस पुस्तकबाट साहित्यको अर्थ र महत्व बुझ्न धेरै मद्धत प्राप्त गरे । साहित्यलाई राजनीतिको विज्ञापन मात्र बनाउन हुँदैन भन्ने श्यामप्रसादको जोड थियो । साहित्य बढी कलात्मक हुनुपर्छ भन्ने कुरामा नयाँ पुस्तालाई सचेत बनाउन यो पुस्तकको ठुलो भूमिका रह्यो ।

संक्षेपमा भन्नुपर्दा विगतमा प्रगतिशील लेखक सङ्घले  चारवटा क्षेत्रमा महत्वपूर्ण कार्य गरेको भेटिन्छ ।

१ ) विचारको क्षेत्रमा
२ ) सिर्जनाको क्षेत्रमा
३ )  सङ्गठनको क्षेत्रमा
४ )  संघर्षको क्षेत्रमा

१ ) विचारको क्षेत्रमा
प्रगतिशील लेखक सङ्घले स्थापना काल देखि नै विचारलाई परिस्कृत गर्ने सवालमा महत्वपूर्ण कार्य गर्दै आइरहेको छ ।  प्रगतिशील लेखक सङ्घ  नयाँ जनवाद, बहुदलीय जनवाद, राष्ट्रिय प्रजातन्त्र वा लोकतान्त्रिक समाजवाद, वैज्ञानिक समाजवादलाई स्वीकार्ने विभिन्न प्रकारका राजनीतिक विचारसँग सम्बद्ध वा स्वतन्त्र लेखकहरू मिलेर बनेको संगठन हो । यसरी हेर्दा प्रलेसमा विचारको विविधता भेटिन्छ । प्रलेसको वैचारिक गोष्ठी , छलफल र कार्यक्रमको लामो सूची छ । वैचारिक कामको दृष्टिले प्रलेस सक्रिय संस्था रहीआएको छ ।

२ ) सिर्जनाको क्षेत्रमा
प्रगतिशील /प्रगतिवादी सिर्जनाको क्षेत्रमा  प्रगतिशील लेखक सङ्घले विशाल सङ्ख्यामा स्रष्टाहरूको निर्माण गर्न मद्धत पुर्‍याएको छ । सङ्घले विभिन्न समयमा विविध विधाका लेखन प्रशिक्षण कार्यक्रम राख्ने गरेको इतिहास छ । प्रगतिशील लेखकहरू यतिबेला प्रतिध्रुवीय धाराको तुलनामा गुण र सङ्ख्या दुवै दृष्टिले अघि  बढ्दै  आएको देखिन्छ । यो हुनुको पछाडि प्रगतिशील लेखक सङ्घ को ठुलो योगदान रहेको छ ।

३ )  सङ्गठनको क्षेत्रमा
प्रगतिशील लेखक सङ्घको तुलनामा प्रदेश, जिल्ला, स्थानीय संरचना भएको अर्को कुनै साहित्यिक संस्था अहिलेसम्म देखा परेको छैन । प्रलेस साझा संस्था पनि हो । त्यसैले प्रलेसले विविध विचारमा छरिएका साहित्यकारहरूको साझा र कठिन दायित्व एवं हकहितको रक्षा गर्दै देशव्यापि संगठन गर्नु सजिलो कार्य होइन । तर प्रलेसले यो कार्य सम्पन्न गरिरहेको छ ।

४ ) सङ्‌घर्षको क्षेत्रमा
प्रगतिशील लेखक सङ्घले विगतमा  प्रतिक्रियावादी राज्यसत्ताद्वारा लेखक कलाकारहरूमाथि गरिने दमनको विरोध र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सक्दो आवाज उठाउँदै सङ्‌घर्ष समेत गर्दै आएको छ । सङ्‌घर्षलाई अघि बढाउन अनेकौं विरोध प्रदर्शन र वक्तव्य दिने काम भएका छन् । इतिहासका विभिन्न आन्दोलनहरूमा प्रलेसले स्रष्टाहरूको तर्फबाट सक्रिय नेतृत्व लिएको देखिन्छ ।

यी सबै क्षेत्रको बारेमा वृहतमा चर्चा गर्न यो अन्तर्वार्तामा सम्भव हुने कुरा होईन । तर पनि स्थापना देखि अहिलेसम्म आइपुग्दा प्रलेसले कहिले सुस्त र कहिले सक्रिय रुपमा यी चारै क्षेत्रमा निरन्तरता दिएको छ । 

(७) उत्तरआधुनिकता तथा भूमण्डलीकरणको प्रभाव वर्तमान समाजका अन्य पक्षमा जस्तै प्रत्यक्ष
अप्रत्यक्ष रुपमा नेपाली वाङ्मयमा पनि परिरहेको छ, यसलाई रोक्न के गर्नुपर्ला ?

उत्तरआधुनिकतावाद साम्राज्यवादको अर्थहिन हतियार थियो भन्ने कुरा अब स्पष्ट हुँदै गएको छ । बेलाबेलामा आफ्नो संकट टार्न ऊ यस्तायस्ता फण्डा ल्याइरहन्छ l मार्क्सवादी साहित्य चिन्तक रामसुजान अमरले भनेझैं  ' उत्तरआधुनिकता के हो भने यसको एउटा ठूलो भाग व्यर्थको बकवास हो, यसको कुनै अर्थ छैन र यसको कुनै अर्थ ननिक्लनुमा पाठक दोषी छैनन् । दोस्रो जुन भागले अर्थ पनि दिन्छ त्यो पूरै साम्राज्यवादीहरूको हितमा छ ।'
भूमण्डलीकरणको  प्रभावले निर्मित सामाजिक आर्थिक विषमतालाई रोक्न भनौं वा प्रभाव कम गर्न हाम्रो सामूहिक प्रयत्नकै जरूरी छ तर दुर्भाग्य मार्क्सवादी भनिएका कैयौं मानिसहरू नै यसको प्रभावमा छन् । यी दुबै साम्राज्यवादका  उपकरणहरू हुन् । आजको साम्राज्यवादले आफ्नो संकट छल्न ल्याएको उत्तरआधुनिकतावाद जस्ता बौद्धिक फण्डाका विरुद्धमा प्रगतिशील आन्दोलनलाई सचेत बनाउन जरुरी छ । उत्तरआधुनिकतावादको लक्ष्य  पूँजीवादी–साम्राज्यवादी संस्कृति र अर्थनीतिलाई मलजल पुर्‍याउनु हो र समग्रतामा मार्क्सवादको विरोध गर्नु हो । प्रगतिशील / प्रगतिवादी शक्तिहरु साम्राज्यवादले बेलाबेलामा ल्याइरहने यस्ता व्यर्थका बकवास हरूलाई चिर्दै अघि बढ्न जरूरी छ ।

८) प्रगतिशील लेखनमा वर्गीय पक्षधरता, वैचारिक पक्षधरता, पार्टी अर्थात् साङ्गठनिक, प्रतिवद्धताबारे यहाँको दृष्टिकोण के छ ?

हाम्रो प्रगतिशील लेखनमा वर्गीय पक्षधरता, वैचारिक पक्षधरता, पार्टी  प्रतिवद्धताबारे धेरै छलफल भएको छ । प्रगतिशील लेखनमा वैचारिक पक्षधरता स्वभाविक कुरा हो तर वैचारिक पक्षधरतालाई आत्मसात गर्ने पार्टी भए मात्र साहित्यकारहरूले पार्टी  प्रतिवद्धताको बारेमा लेख्ने होला । नत्र साहित्यकारहरुले वर्गप्रति निष्ठा राख्ने प्रतिवद्ध पार्टीको आग्रह पनि गर्न सक्छन् र प्रतिवद्ध पार्टीको खोजी पनि गर्न सक्छन् । यसलाई प्रतिबद्धताको खोजी र आग्रहकै रूपमा हेर्नुपर्छ । हामीले प्रतिवद्धतालाई मार्क्सवादी प्रतिवद्धताकै रुपमा लिनुपर्छ । कतिपय अवस्थामा यो पार्टी प्रतिबद्धताका रुपमा पनि मुखरित हुने गर्छ । नेपालको जस्तो दर्जनौं  कम्युनिस्ट पार्टी भएको देशमा प्रतिबद्ध  लेखकहरु स्वतन्त्र रूपमा पनि रहन सक्छन् भनेर बुझ्नु पर्ने हुन्छ । हाम्रोजस्तो  देशमा किनारीकृत जनतालाई  बुझ्ने, समाजलाई बुझ्ने र  बदल्ने चेतनासँग प्रतिबद्धतालाई जोडेर हेर्नुपर्दछ  ।  अहिलेको समयलाई हेर्ने भने पार्टी प्रतिवद्धता भन्नुभन्दा राजनीतिक दृष्टिकोण र विचार प्रतिवद्ध भन्नु बढि सान्दर्भिक होला भन्ने मलाई लाग्छ । यतिबेला मार्क्सवादको नाम प्रयोग गर्ने कैयौं राजनीतिक पार्टीहरु हाम्रो राजनैतिक बजारमा क्रियाशील छन् । यी सबै पार्टीहरू नेपाली समाजको आवश्यकता अनुरूप सञ्चालित छन् भन्ने आधार हाम्रा बीचमा छैन । त्यसैले पनि अहिले पार्टी प्रतिबद्धतालाई नयाँ ढङ्‌ले सोच्न जरूरी छ । पार्टी प्रतिबद्धताको विषय हिजोको लेनिनको बोल्सेभिक र माओको समयको पार्टीको बेलामा बढि प्रयोग गरियो । हाम्रो समयमा त्यसलाई मार्क्सवादी प्रतिबद्धता भनेर उल्लेख गरिनु व्यवहारिक हुन्छ । यदि पार्टीहरू जनताको हितलाई केन्द्रमा राखेर संचालित हुने हो र संसदीय आहालबाट मुक्त हुन तयार हुने हो भने पार्टी प्रतिबद्धता स्वभाविकै हुन्छ । यी शब्दहरू भन्दा अहिले वैचारिक प्रतिबद्धता भन्नु बढि समय सान्दर्भिक हुन्छ ।  परिवर्तित अवस्थामा शब्दले पनि परिवर्तन खोज्छन् । हाम्रो अभियानमा उठिरहेको अर्को कुरो के हो भने वैचारिक प्रतिबद्धताले लेखन कमजोर हुन्छ कि हुँदैन भन्ने हो ।  वैचारिक प्रतिबद्धताले लेखन कमजोर हुन्छ भन्ने तर्क बढि गैरप्रगतिशील क्षेत्रबाट आउने गरेको छ । यो पनि आफैंमा प्रतिकृयावादी षडयन्त्रमात्र हो । वैचारिक प्रतिबद्धताले लेखन कमजोर होइन झनै शक्तिशाली हुन्छ भन्ने कुरा हामीले इतिहासका कैयौं सन्दर्भबाट थाहा पाइसकेका छौं ।

९) प्रगतिवादी कला साहित्यमा विचार प्रधान कि कला ? भन्ने बहस जारी छ । यस सम्बन्धमा यहाँको दृष्टिकोण ? प्रगतिवादी लेखनलाई कलाविहीन नारा भन्ने आरोप लगाउने  प्रगतिवादेत्तरहरूलाई के भन्नुहुन्छ ?

प्रगतिवादी कला साहित्यमा विचार र कलालाई एकसाथ अघि बढाउनु पर्ने हुन्छ । विचार भएन भने त्यो प्रगतिवादी हुने कुरै आउँदैन । कला भएन भने साहित्य हुने कुरै आउँदैन । त्यसैले प्रगतिवादी साहित्य यी दुवैको जोडले मात्र हुन्छ । हामीले नारा र साहित्य एउटै होइन भन्दा भन्दै पनि प्रतिकृयावादीहरूले हाम्रो साहित्यलाई नारा भन्छन् । अहिले हेर्नुस् त , अचेल उनीहरुको साहित्यमा कला छैन । गुनासो र कुण्ठाको पोकोलाई कला भनिदिने ? प्रगतिवादी साहित्यमा कला  कमजोर भएको कारण उनीहरुले यो आरोप लगाएको होइन, अन्तर्वस्तुप्रति प्रगतिवादीहरुले प्रस्तुत गरेको  चासोप्रतिको विरोधस्वरुप  उनीहरूले यो आरोप लगाएका हुन् । उदाहरण स्वरूप भन्नुपर्दा 'वर्तमान  राज्यव्यवस्था मूर्दावाद ।' यसरी भन्यो भने त्यो नारा हो । तर साहित्यकारले राज्य व्यवस्थाको चरित्रलाई विम्बमा व्यक्त गर्नुपर्दछ  । हिजो आजको साहित्य गहिरो गरी तपाइँ पढ्नुस् - प्रतिक्रियावादीहरूले लेखेको साहित्य भन्दा प्रगतिशीलहरुले लेखेको साहित्य कलात्मक छ । हामीले बुझ्नै पर्ने मूल कुरो के हो भने प्रगतिशील साहित्यकारहरूले वर्गीय दृष्टिकोणलाई समर्थन गरेको कारण प्रतिकृयावादी लेखक र आलोचक हरूले नाराबादी भनेर राजनैतिक प्रचार गरेका हुन । अरू सबै तपशीलका कुरा हुन् ।

१०) नेपालका विभिन्न प्रगतिवादी स्रष्टा, द्रष्टा र तिनका आजको नयाँ पुस्ताले पढ्नैपर्ने उल्लेखनीय
कृतिबारे जानकारी पाउन सकिन्छ ?

यो प्रश्नले किताबहरुको लामो सूचीको माग गर्छ । म मलाई प्रभाव परेका थोरै मात्र कृतिको चर्चा गर्छु । प्रगतिवादी आन्दोलनको विद्यार्थी बन्न सर्वप्रथम त मार्क्सवादको प्रारम्भिक ज्ञान प्रदान गर्ने पुस्तकहरू अध्ययन गर्नुपर्छ । यसका लागि मुरारी अर्यालले लेख्नुभएको 'मार्क्सवाद' भन्ने पुस्तक पढ्न सुझाव दिन्छु । नेपालकै प्रगतिवादी  साहित्यकारहरूले लेख्नुभएका पुस्तकहरू पढ्न सकिन्छ । पछिल्लो चरणका पारिजातका कृतिहरू, अघिल्लो चरणका मोदनाथ प्रश्रितका कृतिहरू, गोविन्द भट्टका वैचारिक निवन्धहरु, मोहन वैद्य 'कीरण' का मार्क्सवादी लेखहरू बुझ्न र पढ्न सहज छन् । हिन्दी भाषाको ज्ञान हुने साथीहरूका लागि राहुल सांकृत्यायन पढ्न सक्छौं । एङ्‌गेल्सको 'परिवार नीजि स्वामित्व र राज्यको उत्त्पत्ति ' दृष्टिकोण निर्माण गर्न नपढी नहुने पुस्तक हो । यो पुस्तक नेपालीमा अनुवाद भएको छ । मलाई धेरै प्रभाव परेका पुस्तकहरू मध्ये केहीको नाममात्र लिएको हुँ । बनाउँदै जाने हो भने यो निकै लामो  सूची बन्छ ।

११) साहित्य वर्ग विशेषका लागि कि सबैका लागि ?

प्रगतिवादी साहित्यकारहरूले साहित्य लेख्दा स्वत: वर्ग विशेष अभिव्यक्त भइहाल्छ । प्रगतिशील साहित्यकार हरूले साहित्य लेख्दा स्वतः जन - पक्षधरता आइहाल्छ ।  यो स्वभाविक कुरा हो । जन पक्षधर साहित्य भनै जिवन्त र उत्कृष्ट हुन्छ ।  तर एउटै कुरा के हो भने वर्ग विशेषको साहित्यले पनि कलात्मक शिल्प र साधनाको माग गर्दछ । साहित्य सबैका लागि भने पनि त्यो कसै न कसैको लागि नै हो । भन्ने मात्र सबैका लागि हो । हुने चाहिँ एउटा वर्गका लागि नै हो । साहित्य सबैका लागि भन्ने भनाई नै ढाँट भनाइ हो ।

१२) विश्वका अन्य प्रगतिवादी साहित्यसंग नेपाली प्रगतिवादी साहित्यलाई तुलना गर्दा कस्तो देख्नुहुन्छ । साथै नेपाली प्रगतिवादी साहित्यलाई विश्वव्यापी बनाउन के गर्नुपर्ला ?

मैले विश्वका प्रगतिवादी साहित्यमा पनि भारतीय साहित्यको केही अध्ययन गरेको छु । भारतीय प्रगतिवादी साहित्यको तुलनामा हामी धेरै पछि छौं । हामी आफूलाई प्रगतिशील लेखक भन्छौं तर हाम्रा लेखन र अभियानमा गैरवर्गीय चिन्तन बढिरहेको छ ।

अर्को कुरो, नेपाली प्रगतिवादी साहित्यलाई विश्वव्यापी बनाउन पहिलो कुरो त हाम्रो सिर्जनालाई अब्बल बनाउनुपर्छ । त्यसपछि अनुवादको पाटोमा सोच्न जरूरी छ । अहिलेको इन्टरनेट प्रविधिलाई व्यवस्थित ढङ्‌ले हामीले उपयोग गर्न सक्यौं भने हामी हाम्रो साहित्यलाई विश्वव्यापी बनाउन हाम्रा अघिल्तिर अवसर पनि उत्तिकै छ ।

१३) सहिद, स्रष्टा र नेताहरुका नाममा भरखरै स्थापना गरिएका प्रतिष्ठान, सङ्घसंस्था आदिका नाममा घरजग्गा छ, सरकारद्वारा नियमित बजेट प्राप्त हुन्छ तर वि.सं २००९ सालमा स्थापित प्रगतिशील लेखक सङ्घको एकआना जग्गा घर छैन, कतैबाट बजेट आउदैन, कुनै आयस्रोत छैन, के यो सरकार र जिम्मेवार कम्युनिष्ट पार्टीहरुले प्रगतिशील लेखक सङ्घको संस्थागत
विकासमा ध्यान दिनु पर्दैन ?

प्रगतिशील लेखक सङ्घलाई नेपाल कम्युनिष्ट पार्टीका कुनै पनि घटकले महत्त्व नदिएको कुरो दिउँसो देखिने सूर्य जत्तिकै  छर्लङ्ग छ । कम्युनिस्ट पार्टीहरूको ध्यान प्रलेसलाई समृद्ध बनाउन गएकै छैन । यो संस्थालाई सहयोग गरेर पार्टी हरूले फाइदा देखेकै छैनन् । यसबाट नेपालका कम्युनिष्ट नामका पार्टीहरूले एउटै फाइदामात्र देखेका छन् । त्यो हो - सांस्कृतिक एवम् साहित्यिक क्षेत्रमा काम गरेका पार्टीका मान्छेलाई लेखक सङ्घमा राखेर कोटा भर्ने काम । त्यतिमात्र भएको छ अहिले । प्रगतिशील लेखक सङ्घ नेपालका कम्युनिष्ट पार्टीको एजेण्डामा कहिल्यै परेन । प्रतिष्ठानहरू उनीहरूकै नेताहरूका नाममा खुलेका छन । त्यसैले त्यहाँबाट पार्टीलाई सांगठनिक र आर्थिक रुपमा फाइदा हुन्छ  । प्रगतिशील लेखक सङ्घबाट उनीहरुलाई के फाइदा हुन्छ ? प्रगतिशील लेखकहरू अलिक बढि आलोचक हुन्छन् । कहिलेकाहीं आलोचना गरिदिन्छन् । त्यसैले पनि वैचारिक नभएर संसदीय स्वार्थमा डुबेका नेपालका कम्युनिष्ट पार्टीहरूले प्रगतिशील लेखक सङ्घलाई सहयोग गर्न आवश्यक ठान्दैनन् । प्रगतिशील लेखक सङ्घको संस्थागत विकास गरेर उनीहरूले फाइदा नदेखेका हुन् । नेपालका कम्युनिष्ट पार्टीमा वैचारिक विचलन बढ्दै गएको छ । प्रगतिशील लेखक सङ्घलाई साधन सम्पन्न बनाउन नचाहनु यही विचलनको परिणाम हो ।

१४) नेपालको सांस्कृतिक रूपान्तरणमा प्रगतिशील स्रष्टाहरूको भूमिका के हो ? र कस्तो हुनुपर्छ ?

नेपालको सांस्कृतिक रूपान्तरणमा प्रगतिशील स्रष्टाहरूको भूमिका महत्त्वपूर्ण हुनुपर्छ । प्रगतिशील स्रष्टाहरूको योगदानको कुरा गर्नुपर्दा धेरै लामो कालखण्डको चर्चा गर्नुपर्ने हुन्छ । प्रगतिशील लेखक सङ्घ बने पछि मात्र प्रगतिशील लेखन आरम्भ भएको होइन । नेपालमा प्रगतिशील लेखनको लामो परम्परा छ । साहित्य समाजका चिन्तनशील प्रतिभाहरूको सिर्जना हो । जुनसुकै समाजमा पनि तीन प्रकारका अतीतमुखी, यथास्थितिवादी र अग्रगामी दृष्टिकोण राख्ने साहित्यकारहरू हुन्छन् । हाम्रो साहित्यको अत्यन्तै प्राचीन ग्रन्थ वेदमा पनि यी तीनै प्रकारका विचारहरू देख्न पाइन्छ । हाम्रो अर्को प्राचिन ग्रन्थ मुन्धुममा पनि प्रसस्तै अग्रगामी विचार, यथास्थितिवादी विचार र प्रतिगामी विचार रहेको कुरा अध्येता हरुले बताउने गरेका छन् । गौतम बुद्धले पच्चीस सय वर्षअघि जातपात, छुवाछुत बेठीक छ भन्ने निचोड निकाले र आफ्नो भिक्षु संघमा लागू गर्ने कोसिस गरे । त्यसवेलाको यो अत्यन्तै अग्रगामी विचार हो । त्यसवेलाको अग्रगामी विचार भनेको प्रगतिशील विचार नै हो । संगठित ढङ्गले प्रगतिशील लेखन सुरु हुनुभन्दा पहिले पनि शशीधर पौडेल, सन्त ज्ञान दिलदास, योगमायाका रचनाहरू तत्कालिन अवस्थामा प्रगतिशील रचनाहरू हुन् । कृष्णलाल अधिकारीले 'मकैपर्व'  लेखेवापत जेलमैं मृत्युवरण गर्नुपर्‍यो । प्रगतिशील लेखन संगठित हुनुभन्दा पहिले नै वैकुण्ठप्रसाद लाकौल, लक्ष्मीप्रसाद देवकोटा, शिद्धिचरण श्रेष्ठ, श्यामप्रसाद शर्मा, कृष्णचन्द्र सिंह प्रधान आदि स्रष्टाहरूले समाजको रुपान्तरणका लागि राणा शासनकै समयदेखि प्रगतिशील साहित्यको रचना गर्न थालिसकेका थिए । त्यो वापत उनीहरूले  यातना, जेलनेल पनि पाए । प्रगतिशील लेखक सङ्घ बन्नु भन्दा अघि नै महानन्द सापकोटाले लेखिसकेका थिए -

सयमा दश पाँच धनी गनिनु
अरुले तिनका करिया बनिनु ।
विधिको यदि यै छ विधान भने
अब त्यो विधिको पनि आयु पुग्यो । ।

प्रगतिशील लेखक सङ्घ बने पछि यो अभियान अझै व्यवस्थित बन्यो । त्यसपछि धेरै श्रष्टाहरू पंचायत विरोधी आन्दोलनमा लागे । गणतन्त्रका लागि लागे । प्रगतिशील कविहरूले नै 'गणतन्त्र कविता आन्दोलन' को नेतृत्व गरे । कवि कृष्णसेन इच्छुक, डी. कौडिन्य जस्ता साहित्यकारहरू सहिद भए । जनयुद्धमा थुप्रै प्रगतिशील लेखक कलाकारहरु लामबद्ध भए । धेरैको राज्यद्वारा हत्या भयो । यो सन्दर्भमा २०४६ साल चैत्र ३ गतेको चर्चित कालोपट्टी अभियान र २०६२ / ६३ को स्रष्टा आन्दोलनमा प्रगतिशील स्रष्टाहरुको भूमिका नेतृत्वदायी रह्यो । यस्ता थुप्रै सन्दर्भहरू छन्, नेपालको सांस्कृतिक रूपान्तरणमा प्रगतिशील लेखकहरूको विशिष्ट गौरवमय योगदान छ ।

१५) अन्त्यमा हामीले प्रश्न गर्न छुटाएका र यहाँलाई भन्न मन लागेका केही कुरा भए भनिदिनुस् न !

त्यस्तो खासै त केही छैन । धेरै कुरा माथि नै आइसकेका छन् । तर हामी प्रगतिशील लेखक सङ्घका कार्यकर्ताले सोच्नै पर्ने केही विषयहरू छन् । प्रगतिशील लेखकहरुले आफ्ना रचनाहरूलाई तिख्खर बनाउने कोसिस गर्नु पर्छ । सिर्जनाले प्रतिस्पर्धा गर्ने मानिसहरूको लेखक सङ्घ बनाउनुपर्छ । हामी सम्मेलनमा आएर ठुलाठुला कुरा गरेर जिम्मेवारी लिन्छौं तर पछि सङ्घका गतिविधिबाट भाग्ने गर्छौ । यो समस्या अचेलभरी धेरैमा देखा पर्न थालेको छ बढ्दो क्रममा छ । विचारमा प्रतिबद्ध र सिर्जनामा जीवन देख्ने स्रष्टाहरूको प्रगतिशील लेखक सङ्घ बनाउँ । अबको समयको माग हो 

०००



















No comments:

Post a Comment