समीक्षा
मलाई पनि निद्रा लागेन कथासङ्ग्रहको अन्तर्वस्तु
- डा. अमृता शर्मा
मातृका पोखरेल (२०२३) नेपाली साहित्यको समकालीन युगका सशक्त प्रगतिवादी साहित्यकार हुन् । नेपाली साहित्यका कविता, कथा, निबन्धलगायत विभिन्न विधामा कलम चलाएका पोखरेलका सेतो दरबारको छेउबाट, यात्राको एउटा दृश्य, अनुहारहरू, मित्रताको आकाश गरी चार ओटा कवितासङ्ग्रह र सन्त्रस्त आँखाहरू, घाम झुल्किनुअघि र मलाई पनि निद्रा लागेन गरी तीन ओटा कथासङ्ग्रह प्रकाशित छन् । उनका साहित्यिक कृतिमा मानव समाजलाई वस्तुवादी वैज्ञानिक दृष्टिकोणबाट हेर्दै यसको सूक्ष्म विश्लेषण गरिएको पाइन्छ । निम्नवर्गीय पक्षधरताहित सामाजिक न्यायको स्थापनामा जोड दिनु उनको साहित्यिक वैशिष्ट्य हो ।
मलाई पनि निद्रा लागेन (२०८२) पञ्चायतकालदेखि वर्तमानसम्मको नेपाली विभेदकारी समाजका विभिन्न समस्याको चित्रण गर्दै त्यसका विरुद्ध आवाज उठाइएको कथासङ्ग्रह हो । यस सङ्ग्रहका ‘उज्यालोको प्रतीक्षा’, ‘महानगरभित्र’, ‘थवाङ हेर्ने रहर’, ‘मुक्तिनगर’, ‘बाध्यता’, ‘बाढीको आवाज’, ‘अँधेरी रातको एउटा कथा’, ‘मलाई पनि निद्रा लागेन’, ‘इतिहासको चिहानमाथि उभिएर’, ‘चियाको खैरो जालो’, ‘सानिमा फेरि फर्कनु भएन †’, ‘तर यो सपना होइन’, ‘रसिद’, ‘शर्मा अङ्कलको सेकुवा कर्नर’ र ‘होलटाइमर’ गरी पन्ध्र ओटा कथाले श्रमिक, किसान, महिला, दलितलगायत निम्नवर्गीय जीवनका शोषण, दमन र उत्पीडनका यथार्थलाई देखाउनाका साथै राजनीतिको दलालीकरणले समाजमा पारेको प्रभाव र विकृत बन्दै गएको नेपाली कम्युनिस्ट राजनीतिका नकारात्मक पक्षलाई सूक्ष्म र गम्भीर रूपमा चित्रण गरेका छन् । यी कथाले एकातर्फ नेपाली निम्नवर्गीय जनतामाथिको पञ्चायतकालीन बर्बर दमन र उत्पीडनलाई उदाङ्गो पार्दै त्यसका विरुद्ध कम्युनिस्ट आन्दोलन अपरिहार्य थियो भन्ने अन्तर्य प्रस्तुत गरेका छन् भने अर्कोतर्फ नेपालको कम्युुनिस्ट सङ्घर्षले व्यवस्था परिवर्तन गरे पनि नेपाली उत्पीडित जनताको अवस्था परिवर्तन गर्न नसकेको पीडादायी यथार्थलाई सूक्ष्म रूपमा चित्रण गरेका छन् । यस सङ्ग्रहका कथाले वर्तमानमा कम्युनिस्ट राजनीतिको आवरणमा मौलाएको भ्रष्टाचार, अवसरवाद, दलालीकरणको निर्मम आलोचना गर्दै उत्पीडित जाति, वर्ग, लिङ्ग र समुदायले गरेका सङ्घर्षका विभिन्न आयामलाई देखाएका छन् ।
मलाई पनि निद्रा लागेन कथासङ्ग्रहका केही कथा नेपाली समाजको विगततर्फ फर्किएका छन् । यस सङ्ग्रहका ‘अँधेरी रातको एउटा कथा’ र ‘इतिहासको चिहानमाथि उभिएर’ कथाले पञ्चायतकालीन समाजका वर्गीय र जातीय विभेदका कारुणिक यथार्थको मार्मिक चित्र उतारेका छन् । ‘इतिहासको चिहानमाथि उभिएर’ कथाले पञ्चायतकालीन राज्यसत्ताको जातीय दमनको अमानवीय चरित्रलाई उदाङ्गो पारिदिएको छ । यस कथाले उच्चजातीय पुरुषसँग प्रेम गरेकै आधारमा गर्भवती युवतीलाई जेल हालेको, सुत्केरी अवस्थामा उसको हत्या गरेको र उसको सन्तानलाई समेत जिउँदै पुरिदिएको घटनामार्फत निम्न वर्ग, निम्न जात र महिलाप्रति पञ्चायती व्यवस्थाको निर्मममता, अमानवीयता र पाशविकतालाई देखाएको छ । ‘अँधेरी रातको एउटा कथा’ पञ्चायतकालीन सामन्ती समाजको वर्गीय विभेदको अपरिमित शृङ्खलालाई देखाउने कथा हो । यस कथामा राज्यसत्ताको निकट रहेका ‘बैदार कटुवाल’हरूले आर्थिक शोषणकै आधारमा ‘डल्ले कान्छा’ र ‘डल्ले कान्छाकी आमा’ जस्ता नामविहीन महिलाहरूलाई कसरी आफ्नो स्वार्थअनुकूल उपभोग गर्दछन् र आजीवन उत्पीडनमा पार्दछन् भन्ने यथार्थको प्रारूपीकरण गरिएको छ ।
मलाई पनि निद्रा लागेन सङ्ग्रहका कथाहरूले नेपालको कम्युनिस्ट राजनीतिका विविध समस्याको चित्रण गरेका छन् । यी कथाले विशेष गरी तत्कालीन माओवादी पार्टीभित्र आएको वैचारिक स्खलन र अवसरवादी प्रवृत्तिविरुद्ध आवाज उठाएका छन् । यस सङ्ग्रहका ‘मुक्तिनगर’, ‘बाध्यता’, बाढीको आवाज’, ‘मलाई पनि निद्रा लागेन’, ‘तर यो सपना होइन’, ‘होलटाइमर’लगायत कथाले तत्कालीन माओवादी पार्टीमा आएको वैचारिक स्खलन, सिद्धान्त र व्यवहारबिचको फरक, पार्टीका लागि महŒवपूर्ण योगदान दिएका इमान्दार र प्रतिबद्ध कार्यकर्तालाई पार्टीले गरेको बेवास्तालाई गम्भीर रूपमा चित्रण गर्नाका साथै पार्टीको स्वार्थी, दलाल, अवसरवादी र भ्रष्ट चरित्रलाई उदाङ्गो पारिदिएका छन् । यी कथाले पार्टीभित्र मौलाएको सिद्धान्तको बर्को आडेर सिद्धान्तविपरित नै चल्ने, निम्न वर्गलाई प्रताडित तुल्याउने, व्यवहारमा परम्परागत रूढिवादकै अनुसरण गर्ने, सत्ताका लागि जस्तोसुकै सम्झौता गर्न पछि नपर्ने, चरम अवसरवादी दक्षिणपन्थी प्रवृत्तिविरुद्ध आवाज उठाएका छन् । ‘मुक्तिनगर’ कथाले निम्नवर्गीय मुक्तिका लागि सङ्घर्ष गरेको कम्युनिस्ट पार्टीले दीर्घनरसिंह राणाजस्ता सामन्तीले हडपेको भूमि भूमिहीनलाई सुम्पिएर सिद्धान्तअनुरूपको कार्य गरेको तर पार्टी शान्तिप्रक्रियामा जोडिइसके पछाडि उक्त भूमि सामन्तीहरूलाई नै फिर्ता गरी भूमिहीनविरोधी कार्य गरेको पीडादायी यथार्थको चित्रण गरिएको छ । यस कथाले उत्पीडित वर्गलाई नै प्रताडित गरेर उल्टो बाटोमा हिँडेको नेपालको कम्युनिस्ट आन्दोलनप्रति असहमती जनाएको छ । ‘बाढीको आवाज’ कथाले शान्तिप्रक्रियामा आइसकेपछि माओवादी आन्दोलन दक्षिणपन्थी बाटोमा जान खोजेको र अवसरवाद मौलाएको अवस्थालाई सजीव रूपमा चित्रण गरेको छ । ‘तर यो सपना होइन’ यस सङ्ग्रहको शक्तिशाली कथा हो जसले जनयुद्धका बेला योद्धाहरूको हत्या, बलात्कार र असीमित पीडादायी यातनामा संलग्न मङ्गलमानजस्ता हत्याराहरूले नै शान्तिप्रक्रियापछि माओवादी पार्टी कब्जा गरेको करूप यथार्थको सही प्रारूपीकरण गरेको छ । कथामा जस्तै माओवादी पार्टीले आफ्ना सन्तानलाई जनयुद्धमा नै गुमाएका र प्रतिशोधले नभई पार्टीको सिद्धान्तबाट प्रभावित भएर जनयुद्धमा लागेका ‘खोजु’ जस्ता इमान्दार कार्यकर्तालाई पाखा लगाएर हत्याराहरूलाई पार्टीमा भिœयाउने घृणित कार्य ग¥यो । कथाकारले यस कथामार्फत माओवादी पार्टीको वैचारिक र व्यावहारिक स्खलनको चरम भ्रष्ट रूपलाई कलात्मक प्रतिबिम्बन गर्दै त्यसप्रति चर्को असहमती जनाएका छन् ।
मलाई पनि निद्रा लागेन सङ्ग्रहमा जातीय उत्पीडनविरोधी चेतना प्रबल छ । यस सङ्ग्रहका ‘इतिहासको चिहानमाथि उभिएर’, ‘बाढीको आवाज’लगायत कथाले नेपाली समाजका जातीय उत्पीडनका विविध यथार्थलाई देखाउँदै त्यसविरुद्ध सशक्त आवाज उठाएका छन् । ‘इतिहासको चिहानमाथि उभिएर’ कथाले कथित उच्च जातसँग प्रेम गरेकै बहानामा कथित निम्नजातीय महिलाको राज्यव्यवस्थाद्वारा नै हत्या भएको अत्यन्त पीडादायी अवस्थामार्फत जातीय व्यवस्थाको क्रूरतम रूपलाई देखाएको छ भने ‘बाढीको आवाज’ कथामा तत्कालीन शाही नेपाली सेनाद्वारा आफ्ना बाबुको हत्या भएपछि जनयुद्धमा लागेकी ‘करुणा’ पात्रले दलित प्रतापसँग बिहे भएपछि समाजबाट भोगेको उत्पीडनको अवस्थामार्फत जातीय उत्पीडनको गम्भीर चित्र कोरेको छ । यी कथाले जातीय उत्पीडनको प्रमुख आधार वर्गीय उत्पीडनसँग जोडिएको कुरालाई सङ्केतिक चित्रण गरेका छन् ।
मलाई पनि निद्रा लागेन सङ्ग्रहको शीर्ष कथा ‘मलाई पनि निद्रा लागेन’ले सुकुम्वासी समस्याको उचित समाधान हुनुपर्नेमा जोड दिएको छ । कथाले धनाढ्यहरूले काठमाडौँका धेरै सरकारी जग्गा सुकुम्बासीकै नाममा कब्जा गरेर बसेको र सुकुम्बासी बस्तीभित्र पनि सुकुम्बासी र गैरसुकुम्बासीबिच गहिरो विभेद रहेको अवस्थालाई चित्रण गर्दै वास्तविक सुकुम्बासीलाई वैकल्पिक व्यवस्था गरेर मात्र बागमती किनारका सुकुम्बासी हटाउनुपर्छ भन्ने विचार व्यक्त गरेको छ । यस कथाले एकातर्फ पतिद्वारा प्रताडित निम्नवर्गीय पात्र ‘सरला’को कथामार्फत सुकुम्वासीहरूका पीडादायी यथार्थलाई देखाएको छ भने अर्कोेतर्फ वास्तविक सुकुम्बासीहरूको नेतृत्व गरेको कम्युनिस्ट पार्टीले पनि उनीहरूका समस्या समाधान गर्न नसकेको परिणाम नै वर्तमान दुःखद अवस्था हो भन्ने विषयलाई गम्भीर रूपमा उठाएको छ ।
नेपाली समाजको राजनीति र कर्मचारीतन्त्रभित्र रहेका अवसरवादी, भ्रष्ट र स्वार्थी चरित्रलाई ‘शर्मा अङ्कलको सेकुवा कर्नर’, ‘चियाको खैरो जालो’, र ‘रसिद’ कथाले देखाएका छन् । पञ्चायतकालमा पञ्चायतको प्रमुख वक्ताका रूपमा रहेका शर्मा अङ्कल बहुदलीय प्रजातन्त्र आएपछि गृहमन्त्रीका सल्लाहकार बनेका र पछिल्लो चरणमा कम्युनिस्ट बनेको सन्दर्भले नेपाली राजनीतिमा शर्मा अङ्कल प्रवृत्तिकै बिगबिगी रहेको नेपाली राजनीतिको कुरूप चित्र उतारेका छन् । ‘चियाको खैरो जालो’ कथाले संसदीय राजनीतिको करूपतालाई बिम्बन गरेको छ भने ‘रसिद’ कथाले कर्मचारीतन्त्रको भ्रष्ट, अवसरवादी र स्वार्थी चरित्रलाई व्यङ्ग्य गरेको छ ।
मलाई पनि निद्रा लागेन सङ्ग्रहका कथाहरूले महिलामाथिको पितृसत्तात्मक उत्पीडनलाई देखाएका छन् तर त्यसका विरुद्ध सचेत विद्रोह गर्न भने सकेका छैनन् । ‘इतिहासको चिहानमाथि उभिएर’ र ‘अँधेरी रातको एउटा कथा’ कथाले पञ्चायतकालीन परिवेशमा वर्गीय, जातीय र लिङ्गीय शोषण, दमन र उत्पीडनको तहोरो मारमा परेका महिलाको पीडादायी अवस्थाको चित्र मात्र कोरेका छन् भने ‘उज्यालोको प्रतीक्षा’ कथाले वर्तमान नारीउत्पीडनको एउटा स्वरूपलाई देखाएको छ तर वर्तमान नारीसमस्याको सबल र सही प्रारूपीकरण गर्न सकेको देखिँदैन । यस कथाकी मुख्य पात्र रम्भाले आफ्ना बाबुको पितृसत्तावादी निर्णयविरुद्ध आवाज उठाउन सकेकी छैन न त श्रीमान्को अनैतिक र भ्रष्ट व्यवहारविरुद्ध विद्रोह गरेकी छ । कथामा राजनीतिक रूपमा सक्रिय र दुई पटकसम्म स्ववियु सभापति पदमा अत्यधिक मत ल्याएर विजय भएकी चर्चित विद्यार्थी नेता रम्भाले पारिवारिक करकापमा मागीविवाह गरेको र पतिको अनैतिक चरित्र थाह पाएपछि चुपचाप गृहत्याग गरेको सन्दर्भ त्यति सहज लाग्दैन । उसले पति अनुपको आडम्बरी, जड्याहा र अनैतिक चरित्रविरुद्ध आवाज नउठाउनु, उसले गरेका कुकृत्यलाई नदेखेझैँ गर्नु बरु आफ्नै जीवनलाई भित्रभित्रै धिक्कार्नु र कुनै विद्रोह नगरी चुपचाप गृहत्याग गरेको देखाउनु शिक्षित, राजनीतिक रूपमा सक्रिय र सचेत वर्तमान महिलाहरूको सही प्रारूपीकरण होइन । कथामा एउटी सचेत र शिक्षित महिलाले आफूमाथिको दमन र उत्पीडनविरुद्ध कुनै आवाज नउठाई चुपचाप घरबाट बाहिरिनुलाई किमार्थ विद्रोह मान्न सकिँदैन । यस कथाले रम्भाजस्ती शिक्षित र सचेत महिलालाई यति उत्पीडनकारी, अनैतिक पुरुषविरुद्ध आवाज उठाउन नलगाएर चुपचाप घरबाट भाग्नु नै विद्रोही बन्नु हो भन्ने देखाउन खोजेको छ । यस कथाले सचेत महिलाहरूले पुरुषहरूका यस्ता घृणित प्रवृत्तिविरुद्ध आवाज उठाउन, उनीहरूलाई कानुनी कारवाहीको दायरामा ल्याउन र भागेर होइन लडेर आफ्नो अधिकार प्राप्त गर्न प्रेरित गर्नुपथ्र्यो । रम्भाको यस्तो निरीहताले पितृसत्तालाई बढवा र प्रोत्साहित मात्र गर्दैन महिलालाई शोषण, दमन र उत्पीडनविरुद्ध आवाज नउठाई त्यसबाट विमुख हुन मात्र प्रेरित गर्दछ ।
मलाई पनि निद्रा लागेन सङ्ग्रहको ‘बाध्यता’ कथामा यथार्थको सही प्रारूपीकरण भएको छैन । यस कथाले राज्यले सिर्जना गरेको आतङ्क र त्रासदीलाई देखाएको छ साथै विद्रोही पक्ष र राज्यपक्षको सङ्घर्षमा पिल्सिएका जनता बाध्यताले जनयुद्धमा लागेको अवस्थालाई देखाएको छ । यस कथाले ‘माइली’ पात्रलाई बाध्यताले जनयुद्धमा सहभागी भएको देखाएर नेपाली जनता स्वेच्छाले नभई बाध्यताले जनयुद्धमा लागेका थिए भन्ने विषयलाई सामान्यीकरण गरेको छ । यो वस्तुपरक यथार्थ होइन । बहुसङ्ख्यक जनता बाध्यतामा नभई सचेत र प्रतिबद्ध भएर जनयुद्धमा सहभागी भएका थिए । कथाले अपवादको नभएर प्रतिनिधिमूलक यथार्थको कलात्मक प्रतिबिम्बन गर्नुपर्दछ ।
मलाई पनि निद्रा लागेन सङ्ग्रहका कथाहरूले नेपाली समाजको विगत र वर्तमानलाई देखाउँदै त्यसका विरुद्ध सचेत आवाज उठाएका छन् । म पात्रको केन्द्रीयतामा लेखिएका यी कथामा मानव र समाजलाई हेर्ने दृष्टिकोण वस्तुवादी छ । केही कथाले पञ्चायकालीन समाजको वास्तविक रूप, त्यहाँका निम्नवर्गीय नागरिकको सङ्घर्ष र उनीहरूका जीवनका कटु र पीडादायी यथार्थलाई देखाएका छन् भने बढीजसो कथाका विषय र पात्रहरूले विद्यमान समाजका कुरूप पक्षहरू उजागर गरेर न्याय, समानता र मानवताका मूल्यहरू स्थापित गर्न खोजेका छन् । यी कथाले जनताको मुक्तिका लागि लडेको क्रान्तिकारी पार्टीमा आएको वैचारिक, सामाजिक, सांस्कृतिक, व्यावहारिक भ्रष्टीकरणका गम्भीर सन्दर्भलाई सूक्ष्म रूपमा उजागर गर्दै त्यसप्रति आलोचना गरेका छन् । यस सङ्ग्रहका बढीजसो कथाले नेपालको वर्गमुक्तिको आन्दोलनमा महŒवपूर्ण भूमिका खेलेको तत्कालीन माओवादी शान्तिप्रक्रियामा आइसकेपछिको उसको सैद्धान्तिक र व्यावहारिक स्खलनका साथै चरम अवसरवादी चरित्रप्रति गम्भीर प्रश्न उठाएका छन् । यी कथाले वर्गीय विभेदका गहिरा खाडलहरूलाई देखाएका छन्, वर्तमान भ्रष्ट राजनीतिलाई उदाङ्गो पारेका छन्, समाजमा विकसित स्वार्थी अवसरवादी र व्यक्तिवादी प्रवृत्तिको विरोध गरेका छन् तर त्यसका विरुद्ध सङ्घर्ष गर्ने क्रान्तिकारी चरित्र, चिन्तन र परिवेशको निर्माण भने गरेका छैनन् । समग्रमा समाजमा विद्यमान आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक विसङ्गतिको विरोध, वर्गीय, जातीय, लिङ्गीय आधारमा भएको अमानवीय उत्पीडनविरुद्ध विद्रोह, सभ्य र सुसंस्कृत समाजको निर्माणको आकाङ्क्षा, सरल भाषाशैलीमा गम्भीर विषयको उठान यस सङ्ग्रहका सबल पक्ष हुन् ।
000













No comments:
Post a Comment