Saturday, April 30, 2022

वनिता पत्रिकाद्वारा सिर्जना तथा विभिन्न विधामा उत्कृष्ट कार्य गरेका व्यक्तिहरू सम्मानित

विगत २४ वर्षदेखि निरन्तर प्रकाशित वनिता साहित्यिक पारीवारिक त्रैमासिक पत्रिकाले हरेक वर्ष विभिन्न सिर्जना तथा विधामा उत्कृष्ट कार्य गरेका व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ । कोरोना महामारीका कारण दिन नसकिएका २०७८ सालका पुरस्कारहरू यही २०७९ साल बैसाख १७ गते  प्रदान गरिएको छ । पत्रिकाले रु. २५,००० राशि सहितको ’वनिताश्री कथा रत्न सम्बुद्ध अभिनन्दन -२०७८’ वरिष्ठ साहित्यकार डा. दयाराम श्रेष्ठ ’सम्भव’लाई प्रदान गरेको छ । यस्तै रू. १०,०१५ राशि सहितको ’वनिताश्री गोपालप्रसाद रिमाल काव्य सम्मान पुरस्कार- २०७८’ वरिष्ठ कवि, गीतकार दिनेश अधिकारीलाई प्रदान गरेको छ ।

पत्रिकाले रू.१०,००० राशि सहितको ’देवकुमारी थापा बालसाहित्य वनिता पुरस्कार’ २०७८ र २०७९ बाल साहित्यकार प्रभा भट्टराई र बाल साहित्यकार रामदेव पाण्डेलाई, रु. ५,००० राशि सहितको ’वनिताश्री डा. नरेन्द्र चापागाईं समालोचक शिरोवर्ती सम्मान’ २०७८ र २०७९ समालोचक डा. शैलेन्दुप्रकाश नेपाल र समालोचक डा. दुर्गाप्रसाद दाहाललाई प्रदान गरिएको छ ।

यसैगरी पत्रिकाले रू ५,५५५ राशि सहितको ’वनिताश्री देवकुमारी थापा कथा विशिष्ट सम्मान पुरस्कार’ २०७८ र २०७९ कथाकार मातृका पोखरेल र कथाकार इल्या भट्टराईलाई, रू ५,०५५ राशि सहितको ’व्यथित काव्य वनिताश्री पुरस्कार’ २०७८ र २०७९ कवि कृसु क्षेत्री र कवि मनोज न्यौपानेलाई, रू.१५,००० राशि सहितको ’वनिता शिक्षा र साहित्य पुरस्कार २०७८’ शिक्षासेवी गायत्री श्रेष्ठलाई रू. १५, ००० राशि सहितको ’वनिता बहुआयामिक प्रतिभा पुरस्कार -२०७९’ बहुआयामी प्रतिभा मोहन अभिलाषीलाई, रू.१०,००५ राशि सहितको ’वनिताश्री उन्नती गीतसङ्गीत पुरस्कार’ २०७८ र २०७९ गायिका संगीता थापा शाक्यलाई र नेपाल आइडल सिजन ४ का विजेता भुपेन्द्र थापा मगरलाई प्रदान गरेको छ ।

यस्तै पत्रिकाले रू. ५,००० राशि सहित ’वनिता विशेष वसुश्री- मधु पुरस्कार’ २०७८ र २०७९ संचारकर्मी भगवती बस्नेत र रंगकर्मी पुरू लम्साललाई, रू. १०,००० राशि सहितको ’वनिताश्री पुरुषोत्तमराज पाण्डेय पुरस्कार’ ०७८ र ०७९ गायक जुजुकाजी रञ्जित र साहित्यकार धनकुटे कान्छालाई प्रदान गरेको छ ।यसैगरी पत्रिकाले रू. १०,००० राशिसहितको ’वनिता जलेश्वरी बालप्रतिभा पुरस्कार’ २०७८ र २०७९ राइजिङ स्टार बोर्डिङ स्कुलका सानानानीहरू र प्रिभा रेग्मीलाई संयुक्त रुपमा प्रदान गरेको छ ।

यस्तै पत्रिकाले रू .५,००० राशिसहितको ’वनिता बालकलाकार पुरस्कार – २०७९’ कृशला श्रेष्ठलाई प्रदान गरेको छ । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काँइलालाई विशेष विशेष अभिनन्दन गरिएको थियो । यसरी नै बलराम अधिकारीलाई भद्रकुमारी घले-उषा ठाकुर सम्मान प्रदान गरिनुका साथै जातीय विभेद विरुद्धका युवा अभियन्ता रिता परियारलाई सम्मान प्रदान गरिएको थियो ।

वनिताका सम्पादक एवं प्रकाशक लक्ष्मी उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवं वरिष्ठ साहित्यकार बैरागी काइला रहेका थिए ।



















                                                                                    https://m.facebook.com/story.php?story_fbid=10225401699923241&id=1046781241

No comments:

Post a Comment